कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

मेचीकाली संवाददाता

१६ माघ २०७९, सोमबार
263 shares

पार्वती आचार्य

कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुर स्थित बुद्धरंगशालामा माघ १७ गते उद्घाटन हुदैछ । माघ १७ गते देखि २९ गते सम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी संचालन हुन लागेको हो ।

महोत्सवको तयारीको काम अन्तिम चरणमा पुगेको छ अन्य भौतिक काम सोमबार सम्म सकिने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि काम भईरहेको बताउँदै अहिले समग्रमा तयारीको काम अन्तिम चरणमा पुगेको बताए । यस कपिलवस्तु महोत्सवलाई ऐतिहासिक रुपमा चिनाउनकालागि फरकढंगबाट बिभिन्न कार्यहरु गरिने आयोजकले दावी गरेको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा १३ औं कपिलवस्तु महोत्सवका निर्देशक छवि रेस्मी मगरले विगतका महोत्सवहरुबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने लक्ष्य रहेको बताए । उनले महोत्सवलाई कपिलवस्तुकै उत्सावका रुपमा स्थापित गर्ने गरि तयारी गरिएको बताउँदै कम्पाउण्ड, स्टल, सचिवालय, बालउद्यान निर्माणको काम सम्पन्न भएको जानकारी दिए ।

यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने छ । आन्तरिक तयारीको काम विभिन्न समिति, उपसमिति मार्फत सम्पन्न भएको छ । उनले भने ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा हामी आशावादी छौं ।’

महोत्सवमा डेढ लाख दर्शन भित्राउदै करिब ६ करोडको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको निर्देशन रेश्मीले जानकारी दिए । महोत्सवलाई नयाँपन दिन प्रमुख अतिथिलाई बग्गी चढाएर स्टेजसम्म लैजाने व्यवस्थापन मिलाएको छ । संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिँदें यस महोत्सवलाई नयाँपन दिन सिङ्गीङ आईडल गर्न लागिएको बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा आफू बिश्वस्त रहेको बताए ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान वज्राचार्यले मिडियाका क्षेत्रबाट यस महोत्सवलाई सफल वनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले महोत्सव बाट हुने आम्दानीको केही रकम पत्रकारहरुको हकहितका लागी स्थापित गरिएको कोषमा जम्मा गर्न आग्रह गरेका थिए । उक्त सम्मेलन कार्यक्रममा पत्रकारहरुले महोत्सव संचालनको बिषयमा जिज्ञासाहरु राखेका थिए । कार्यक्रम संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।