कपिलवस्तुमा अपराधिक घटनामा संलग्न चारजना पक्राउ

मेचीकाली संवाददाता

१६ माघ २०७९, सोमबार
184 shares

बुटवल । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने ३१ वर्षीय जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन विक, १८ वर्षीय बृजेश गिरी र २० वर्षीय सुग्रिम रैदास रहेका छन् । विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको तथा दुई वटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताइन् ।

गत कार्तिक २२ गते दुई वटा ट्रक र एउटा मोटरसाइकलमा शृङ्खलाबद्ध रुपमा आगजनी भएको थियो । प्रहरीका अनुसार यो समूहले सोही दिन राति अन्दाजी १२ः२० बजे कपिलवस्तुको शिवराज नगरपालिका–६ गड्गौडास्थित समृद्धि फुड्स प्रा.लि. अगाडि चन्द्रौटा–कृष्णनगर सडकको किनारमा रोकी राखेको कर्णाली प्रदेश ०२–००१ ख ०५७८ नम्बरको ट्रक, त्यसैगरी बिहान ३ः४० बजेको समयमा सोही वडाको वीरपुरस्थित चन्द्रौटा–कृष्णननगर सडकमा राधा किशुन वनियाँको घर अगाडि पार्किङ गरी राखेको ना ५ ख १४५३ नम्बरको ट्रक र बिहान ४ः३० बजे कपिलवस्तु कृष्णनगर नगरपालीका–८ जौवाभारीस्थित महलक्ष्मी सुगर मिलको गेट अघि पार्किङ गरी राखेको लु ५ प ९२८७ नम्बरको मोटरसाइकलमा शृङ्खलाबद्ध रूपमा आगजनी गरेको थियो । आगजनी गरिएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्दलगायतका विभिन्न ७ बुदे मागसहितको पर्चाहरु प्रहरीले फेला पारेको थियो ।

त्यस्तै उनीहरुले गत पुस १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनीसमेत दिएको खुलेको छ । पुस २६ गते कृष्णनगर नगरपालिका–८ गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ ।

माघको २ देखि १३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए । मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा माघ १३ गते बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरुको सूचनाको आधारमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट दुईवटा मोटरसाइकल, एउटा ल्पापटप र ६ वटा मोवाइल बरामत गरेको छ । पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।