बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीकाली संवाददाता

२० माघ २०७९, शुक्रबार
265 shares


नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले गाउँपालिकाको आर्थिक वर्ष २०७८,०७९ र आर्थिक वर्ष २०७९,०८० मा गाउँपालिकाले सम्पादन गरेका काम तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । घर्तीले गाउँपालिका, वडा कार्यालय र पालिका अन्तरगतका विभिन्न विषयगत समितिले सम्पादन गरेका कामहरु र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।


सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा गाउँपालिका सम्वेदनशील रहेको बताइन । उनले गाउँपालिकाले सिमीत स्रोत र साधनका बाबजुद पनि बिकास र्निमाणका काममा सबैको साथ र सहयोगमा कामगर्ने, एकीकृत घुम्ती शिविर मार्फत टोलमै सेवा प्रदान, बिभिन्न लोककल्याणकारी कार्यक्रमहरु पालिकाको प्रमुख महत्व भित्र रहेको बताइन् । उनले नागरिकलाई सहज सुविधा दिने कुरामा बगनासकाली गाउँपालिका निरन्तर लागिपरेको समेत बताइन । अध्यक्ष चिदीले सार्वजनिक सुनुवाईमा उठेका विषय र आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता जनाइन ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोलाई यथासिघ्र संवोधन गरिने बताए । उनले आफूहरु साझा जनप्रतिनिधिको रुपमा रही जनताको असल सेवकको रुपमा लागिपरेको बताए । उपाध्यक्ष पाठकले गाउँपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताए ।


कार्यक्रममा सेवाग्राहीहरुले बगनासकाली गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अल्पकालिन र दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, नदीजन्य पदार्थहरुको निकासीमा भएको प्रक्रिया,पशु बधशाला व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले सोचेजस्तो प्रगति नदेखिएको, गाउँ गाउँमा बर्थिङ सेन्टर रहेपनि उचित जनशक्ति र उपकरणको अभावमा ज्यादै न्युन संख्यामा मात्रै सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउने गरेको लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए ।


सेवाग्राहीहरुले उठान गरेका विषयहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती सहित वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।


कार्यक्रममा बगनासकाली पत्रकार समूहका सचिव बिष्णु प्रसाद घिमिरे द्धारा सार्वजनिक सुनुवाईका क्रममा संकलन गरिएको नागरिक अभिमत र सेवाग्राहीहरुको अभिमत्रपत्रको सार प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बगनासकाली पत्रकार समूहका उपाध्यक्ष भोजराज तिमिल्सिना र सहसचिव नेत्र गैरेले गरेका थिए भने कार्यक्रम समूहका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षतामा चलेको थियो ।