कपिलवस्तुबाट २१ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ

मेचीकाली संवाददाता

२० माघ २०७९, शुक्रबार
239 shares

बुटवल । कपिलवस्तु प्रहरीले २१ लाख बढी अवैध भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । यूपी ५५ एएम ०४५९ नम्बरको भारतीय कारमा अवैध भारतीय मुद्रा ओसारपसार भैरहेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कारमा सवार तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका–६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही ठाउँका २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

बिहीबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर २ जमुवारपुलस्थित भैरहवा–तौलिहवा हुलाकी सडक खण्डमा भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको निलो रंगको उक्त भारतीय कारमा चेकजाँच गर्दा अवैध भारतीय मुद्रा फेला पारेको हो ।

प्रहरीले उक्त कारभित्र सिटमुनी ३ ठाउँमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा ५ सय दरको नोट ४ हजार थान र सोही कारमा सवार राकेश कुमार बर्माको साथबाट ५ सय दरको नोट २०७ थान तथा १०० दरको ३६ थान गरी जम्मा २१ लाख ७ हजार एकसय भारतीय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।