गार्गी एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२० माघ २०७९, शुक्रबार
448 shares

बुटवल, माघ २० । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार सहिद सप्ताहको अवसर पारी बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने नाराका साथमा रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरीएको विद्यालयका प्राचार्य भुवन अधिकारीले बताए । कार्यक्रममा बोल्दै प्राचार्य अधिकारीले विद्यालयमा यस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन भइरहेको स्मरण गराउँदै आगामी दिनहरूमा यस्तै सामाजिक हितमा विद्यालय सधैँ लागिरहने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापा र प्राचार्य अधिकारीले दुई जना रक्तदातालाई संयुक्त रुपमा ब्लडब्याग हस्तान्तरण गरी औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा १७१ यूनिट रगत संकलन भएको छ । कार्यक्रम संयोजक भीमबहादुर चौधरीको स्वागत मन्तव्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षतामा सम्मान सम्पन्न भएको कार्यक्रमको सञ्चालन नवराज न्यौपानेले गरेका थिए ।