रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

मेचीकाली संवाददाता

२३ माघ २०७९, सोमबार
288 shares

बुटवल । रुपन्देहीमा रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने सबै बसका कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालले बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जानकारी दिए । सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार ठोक्किएको थियो । दुर्घटनापछि कार चालक प्रहरीको सम्पर्कमा आएका छैनन् ।

बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस सहचालक हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।