‘सिद्ध सन्देश’मा समाहित हुँदा…

मेचीकाली संवाददाता

२४ माघ २०७९, मंगलवार
473 shares

अस्मिना पाण्डेय
सानैदेखि रेडियो प्रेमी । रेडियो धेरै सुन्ने । कतिपय कुराहरु सिकी हाल्ने । चिठीपत्र पठाउने साथी बनाउने । यस्तै निरन्तर चलिरहन्थ्यो । नभन्दै बुटवलमा महिलाहरुले मात्रै सञ्चालन गरेको रेडियो मुक्तिमा २०६५ बाट जोडिने अवसर पाएँ । त्यसपछिका केही आरोह/अवरोहका बीचमा म अहिले यही रेडियोमा कार्यरत छु । रेडियोमा बोल्ने हुटहुटी चलेका बेला बोल्न मात्रै पाएपनि आफैले आफैलाई महान सम्भिन्थें । दिनकै पाँच ,छ वटासम्म कार्यक्रम चलाउने म । लोक भाकादेखि क्वीज,पत्रपत्रिका कार्यक्रम र समाचारसम्मका जिम्मेवारी हुन्थे । पैसाको कुनै प्रवाह थिएन । बस, रेडियोमा बोल्न पाए हुन्थ्यो । समय सधैं एकै किसिमको हुँदो रहेनछ । समयको रफ्तारसँगै प्रविधिको विकास यसरी भयो कि हामीले कल्पना गरेभन्दा छिटो ।

विपद, महामारी र कामकाजी नागरिकका लागि रेडियो अहिले पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रो देश अझै पूर्णसाक्षर भैसकेको छैन । त्यसैले पनि रेडियो सुनेर सूचना पाउनेको संख्या अझै पनि धेरै छन् । कामकाज गर्दा, मेलोपात गर्दा होस् । भान्सामा खाजा पकाउँदै गर्दा होस् रेडियो सुनेर काम गर्नेको संख्या अझै धेरै छन् ।

यति कुरासम्म मैले जोड्नुको एक मात्रै कारण हो– पृथक कार्यक्रम सिद्ध सन्देशसँग म कसरी जोडिन पुगें ? धार्मिक आस्थासँगै मन्दिरका गतिविधिमा प्रायःजसो जोडिने, समाचार सम्पे्रषण गर्नेक्रममा म तिनाउ गाउँपालिका–३, पाल्पामा रहेको सिद्धबाबा मन्दिरसँग र त्यहाँका सञ्चालक समितिसँग परिचित थिएँ । सबैजसो कार्यक्रम चलाएर अनुभव लिएकी म यो मन्दिरको पनि एउटा साप्ताहिक कार्यक्रम चलाउन पाए मन्दिरको प्रचार प्रसारमा टेवा पुग्थ्यो होला जस्तो मनमा लागिरहन्थ्यो । फेरि अर्को मनलो सोच्थें एउटा सामान्य मन्दिरको साप्ताहिक कार्यक्रम प्रसारण गर्न कसरी भन्नु ? त्यही पनि एकपटक समितिसँग कुरा गरिहाल्छु भनेर मैले मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङ सर समक्ष कार्यक्रमका बारे प्रस्ताव राखें । उहाँलाई मेरो प्रस्ताव सहि लागेछ क्या हो ।

सरले आफ्नो समितिमा कुरा राखि सकेपछि मैले रेडियो यात्राको झण्डै १३ वर्षको यात्रामा तिनाउ–३, पाल्पामा रहेको सिद्धबाबा मन्दिरको धार्मिक, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम ‘सिद्ध सन्देश’ उत्पादन र प्रसारण गर्ने मौका पाएँ । मेरा लागि नयाँ अनुभव थियो । मैले सामान्य मानेर कार्यक्रम उत्पादन र प्रसारण गर्न हिचकिचाएको सिद्धबाबा मन्दिर त मैले सोचेभन्दा वृहत्, बहुसांस्कृतिक, पुरातात्विक, धार्मिक आस्था र पर्यटकीय केन्द्र पो रहेछ । मन्दिरको ऐतिहासिक महत्व त एउटा विश्वविद्यालय नै रहेछ । अन्य कार्यक्रम उत्पादनमाभन्दा यो कार्यक्रम उत्पादनमा भित्रैबाट धार्मिक आस्था सलबलाउने पाएँ ।

बुटवल–पाल्पा सडकखण्डको सिद्धार्थ राजमार्गसँगै मूलबाटोमा रहेको मन्दिरलाई बाटोमा यात्रा गर्दा र कहिलेकाँही गएर मन्दिरमा थापना गरिएका मूर्तिमा दर्शन गरेर फर्किने तपाई÷हामी मध्येकी मैले अहिले मन्दिरको बारेमा धेरै कुराहरु जान्ने, बुझने अवसर पाएँ । कार्यक्रम सिद्ध सन्देशमार्फत हजुरहरुले धेरै कुरा थाहा पाइसक्नु भएको छ भन्ने आशा गरेकी छु । सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेकै कारण यस मन्दिरको नाम सिद्धबाबा रहन गएको धार्मिक विश्वास र किंवदन्ति रहेछ ।

कार्यक्रममा मन्दिरको स्थापना, यसको ऐतिहासिक महत्व, पुरातात्विक महत्व, संरक्षण चुनौती त्यहाँ रहनुभएका पदाधिकारी, आमजनसमुदायका विचार, मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीसँगका कुराहरु मन्दिरलाई सुधार गर्नुपर्ने सुझावहरु र आस्थाका विषयमा कुरा गर्छौ । निचोडमा पुग्छौ । यसरी कार्यक्रम निर्माण गर्दा छुट्टै अनुभूति हुने गरेको छ । यो खासगरि शिवजीको मन्दिरको रुपमा परिचित भएपनि यहाँ विभिन्न १० देवताका पूजाआजा हुने गर्दछन् । भक्तजनले मागेको वर प्राप्त भई मनोकामना सिद्धि हुने भएको हुँदा यस मन्दिरमा भक्तजनको घूइँचो लाग्ने गर्दछ ।

शनिवार, सोमवार, फागूपूर्णिमा, शिवरात्रि, नयाँ वर्ष लगायतका विशेष तिथिहरुमा यहाँ भक्तजनहरुलाई सम्हाल्न हम्मेहम्मे पर्दोरहेछ । नेपालका कुनाकाप्चादेखि भारतका विभिन्न सहर र विदेशबाट समेत यस मन्दिरमा श्रद्धालुभक्तजनहरु पूजाआजा र दर्शन गर्न आउने गरेको मन्दिर समितिसँग रेकर्ड रहेछ । यस मन्दिरको धार्मिक, पर्यटकीय प्रचार प्रसारका लागी गरेका नौला अभ्यास साँच्चिकै मन लोभिने खालका छन् ।

मन्दिरको विकास र प्रचार प्रसार गर्ने उद्देश्यले मन्दिर विकास समितिले गरेका राम्रा कामको अनुसरण अन्य धार्मिक स्थलहरुले पनि गर्न सके आफ्नै गाउँठाउँका महत्वपूर्ण ऐतिहासिक महत्व बोकेका धार्मिक स्थलहरुका बारेमा नयाँ पुस्ता समेत जानकार हुनेछन् । देख्दा एउटा मन्दिर जस्तो लाग्छ । त्यहाँभित्रको एकता, कामको बाँडफाँड, व्यवस्थापकीय क्षमता साँच्चिकै सिक्नुपर्ने छ । पुजारीहरुको र मन्दिर विकास समितिका पदाधिकारी र सदस्यसँगको आत्मीयता कस्तो कायम भएको । कार्यक्रम निर्माण गर्दै जानेक्रममा मैले यस मन्दिरले गरेका निकै राम्रा र नौला अभ्यासका बारेमा जानकारी लिने मौका पाएँ ।

मन्दिरमा उठेका भेटी संकलनबाट पाल्पामा रहेका विभिन्न विद्यालयमा र शैक्षिक संस्थाहरुमा सहयोग गर्दो रहेछ । जसका कारण त्यहाँ पठनपाठनबाट बञ्चित विद्यार्थी भाइबैनीले पढ्न पाएका रहेछन् । सामाजिक काममा र प्रचारप्रसारमा अन्तर्राष्ट्रिय सिद्धान्तलाई पछ्याउँदै त्यही अनुसारको काम गर्दे आएको रहेछ । मन्दिरको विकास र दर्शनार्थीको संख्या बढ्नुमा त्यहाँ चढाएको भेटीको सहि सदुपयोग, पारदर्शिता, सामाजिक उत्तरदायित्व, धार्मिक पर्यटनमा विभिन्न पार्क स्थापना, सुरक्षा ब्यवस्था सिसिटीभि क्यामेराको जडान, सेल्फीजोन लगायतका थुप्रै कुराहरु पर्दछन् । यस मन्दिरको बारेमा जानकारी दिन विभिन्न भाषामा ब्रोसियर तयार पारिएको छ । मन्दिरको आफ्नै वेवसाइट निर्माण गरिएको छ । डकुमेन्ट्रीको अन्तिम तयारी भएको पाएँ ।

यस्ता धार्मिक स्थलहरुले धार्मिक र ऐतिहासिक महत्व दर्शाउन युवापुस्तालाई धार्मिक आस्थाका बारेमा जानकारी गराउन विशेष कार्यक्रमहरु गर्ने, सञ्चार माध्यमको प्रयोग गर्ने, एक आपसमा भाइचारा राख्न पारदर्शिता कायम राख्ने, यस्ता धरोहरको संरक्षणमा सबै नागरिक चनाखो हुने हो भने सबैजसो धार्मिक स्थलहरुको प्रचार प्रसारमा टेवा पुग्ने अनुभव मलाई कार्यक्रम ‘सिद्ध सन्देश’ले दिएको छ । सबै नागरिकका लागी फलदायी हुन्छ भन्ने आशा छ ।

कार्यक्रम ‘सिद्ध सन्देश’ हरेक साताको शनिवार विहान साढे ६ बजेदेखि ७ बजेसम्म रेडियो मुक्ति ९५.५ र www.radiomukti.org मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ । यो कार्यक्रमका लागि मलाई छनोट गरि उत्पादन र प्रसारण गर्ने मौका दिनु भएकोमा अध्यक्ष दलबहादुरर सर र समितिप्रति आभारी छु । तपाई सम्पूर्णलाई यस मन्दिरको एकपटक अवलोकन गर्न र यहाँ शुरु गरिएका असल अभ्यासको अनुसरण गर्न पनि अनुरोध गर्दछु ।