लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
550 shares

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने अघिल्लो दिन मन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।

नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जनता समाजवादी पार्टी जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको बैशाखमा मन्त्री बन्नुभएका पाण्डेसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई सरकारबाट फिर्ता हुन नमानेपछि जसपाले कारबाही गरी सांसदबाट हटाएको थियो ।

निर्णयविरुद्ध तीनै जना अदालत गएका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित पाण्डेयले पद त्यागे पनि विजय यादव र कल्पना पाण्डे लम्साल भने सरकारमा छन् ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद रहेकोमा पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् । उनीहरु विपक्षी गठबन्धनमा छन् ।