लुम्बिनीमा मन्त्री कृष्णा केसीद्वारा राजीनामा

मेचीकाली संवाददाता

२८ माघ २०७९, शनिबार
281 shares

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसीले शनिबार राजीनामा दिएको बताइए पनि उनको राजीनामा मुख्यमन्त्री कार्यालयमा पुगेको छैन ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएको पुष्टी गरे । ‘उहाँले राजीनामा दिएको कुरा आएको छ’ बरालले भने, ‘आन्तरिक कारणले राजीनामा दिएको भन्ने कुरा पार्टीमा आयो । बाँकी छलफलको क्रममै छौं ।’
मुख्यन्त्रीका प्रमुख स्वकीय सचिव अमृत गिरीले मन्त्री केसीले राजीनामा दिएको भन्ने कुरा सुन्नमा आए पनि राजीनामा मुख्यमन्त्रीसमक्ष अझै नआएको बताए ।

श्रोतका अनुसार माओवादीको प्रदेश कमिटीले मन्त्री केसीलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा उपनिर्वाचनमा उनले सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो । केसी बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएकी हुन् ।