लुम्बिनीमा मन्त्रिपरिषदले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरुको शपथ आज

मेचीकाली संवाददाता

२९ माघ २०७९, आईतवार
259 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि लिला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिपरिषदमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन्।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८  अनुसार मन्त्रिपरिषदमा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गरेको विज्ञप्तिमा मन्त्रीहरुको कार्यविभाजन गरिएको उल्लेख गरिएको छ।

गत पुस २८ गते गिरीले दुई जना बिनाविभागीयमन्त्री सहितको तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका गिए। तर, गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

विस्तारित मन्त्रिपरिषदमा सरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका छन्।

कार्यविभाजन अनुसार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री,  एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्री नियुक्त भएका छन्।

यस्तै माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रबाट मन्त्री नियुक्त केसीले यसअघि बिनाविभागीय मन्त्रीको रूपमा रहँदै शनिबार नै पदबाट राजीनामा दिएकी थिइन्।माओवादीको प्रदेश कमिटीले मन्त्री केसीलाई राजीनामा दिन लगाएको बताइएको थियो। यही माघ २५ भएको राष्ट्रिय सभा उपनिर्वाचनमा उनले सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो। यद्यपि, मुख्यमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा भने राजीनामा दिएको भनिएकी केसीलाई मन्त्रालय तोकिएको छ।

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे प्रदेश राजधानीमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।