लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज हुँदै

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
593 shares

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरू हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बुधवारदेखि बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले दिउँसो १ बजे बस्ने बैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा छलफल र निर्णयार्थ प्रस्तुत हुने बताए । विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए ।

सदनमा अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना न्यून रहेकाले उनले त्यसअघि नै राजीनामा दिन सक्ने सम्भावना बढी छ । यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

एमालेका ३८ र विपक्षीका ४२ सांसद छन् । बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ ।