लुम्बिनी प्रदेशमा नवनियुक्त ७ मन्त्रीले लिए शपथ

मेचीकाली संवाददाता

२९ माघ २०७९, आईतवार
197 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त ७ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १७२ बमोजिम मन्त्रीहरुको शपथ ग्रहण गराइएको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिला मन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारूले भैतिक पूर्वाधार विकास मन्त्री, नेकपा (एमाले)का विष्णु पन्थीले स्वास्थ्य मन्त्रीका रुपमा शपथ लिए ।

त्यस्तै एमालेका दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, एमालेका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्रीका रुपमा शपथ लिए ।

यसअघि विना विभागीय रहेका दुईजना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ । एमालेका चेतनारायण आचार्यले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र माओवादी केन्द्रकी कृष्णा केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री केसीले यसअघि बिनाविभागीय मन्त्रीको रूपमा रहँदै शनिबार नै पदबाट राजीनामा दिएको चर्चा भएको थियो । तर, उनको राजिनामा पार्टी भित्रको असन्तुष्टी भन्दै पार्टी भित्रै मिलाइएको छ ।

मुख्यमन्त्री कार्यालयले मन्त्री केसीको राजीनामा मुख्यमन्त्री समक्ष आइनपुगेको बताएको छ । मन्त्री केसी आइतबारको शपथ ग्रहण स्थलमा उपस्थित भइनन् । लुम्बिनीमा प्रदेश सरकार गठन भएको एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री लिला गिरीले शनिबार राति सरकारलाई समर्थन गरेका चार दललाई समावेश गरेर मन्त्रीपरिषद् बिस्तार गरेका हुन् ।

मुख्यमन्त्री गिरीले १३ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर १० बनाएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरुको सहमतिअनुसार एमालेबाट मुख्यमन्त्रीसहित पाँच, माओवादीबाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना गरी १० जनाको मन्त्रिमण्डल बनाइएको हो । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले भने मन्त्री बन्ने अवसर पाएनन् ।