राष्ट्रपति चुनावअघि सत्ता गठबन्धन भत्काउँछौँः महामन्त्री थापा

मेचीकाली संवाददाता

२ फाल्गुन २०७९, मंगलवार
138 shares

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । ‘१० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्योलोमा आएर भत्काउने प्रयत्न रहन्छ, भत्काउँछौ’ उनले भने । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा–१५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताए ।

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ बर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थीरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेट विपरीत बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे ।

उनले निर्वाचन अगाडि जनतासंग जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकार बन्दा अर्को गठबन्धन हँुदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन अगाडि बढ्नु पर्नेमा जोड दिए । चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभएपनि व्यवहारमा उच्च राजनैतिक सस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ ।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरेका छन् । फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गरेका छन् । उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गरे । उनले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंहदरबारबाटै शीत्तल निवासको लेटर प्याड र रबर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गरे ।

महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको दाबी गरे । पार्टीभित्र केही मतभेद रहे पनि त्यसलाई पार्टीमा बसेर समाधान गर्ने बताए । उनले वर्तमान समयमा देखिएको आर्थिकलगायतका समस्या समाधानका लागि पनि नेपाली कांग्रेस पार्टी लागिपरेको बताउँदै जनतालाई आशावादी हुन आग्रह गरे । कांग्रेस नेतृत्वको गठबन्धनले भोट माग्दा नागरिकसँग गरेका वाचा र प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबाट पछि नहट्ने उनको भनाइ छ ।