संसदमा जनताका आवाज उठ्नुपर्छः पूर्वमन्त्री बिष्ट

मेचीकाली संवाददाता

३ फाल्गुन २०७९, बुधबार
231 shares

गुल्मी । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले संसद दल–दलबिच आरोप र प्रत्यारोप गर्ने थलो बनाउन नहुने बताए । बिष्टले पदभन्दा जनताका शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीलगायतका आधारभूत आवश्यकताका विषय संसद्मा उठ्नुको सट्टा संसद् दल–दलबिच आरोप–प्रत्यारोप गर्ने थलो बनिरहेको बताए ।

जनज्योति मावि मुसिकोट नगरपालिका–१ अरेवाको १२ कोठे नवनिर्मित भवनको उद्घाटन तथा ६४ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै राजनीतिक दाउपेचका कारण जनताका आधारभूत आवश्यकता गुम्राहमा परेको बताउँदै राजनीति जनताको समृद्धिमा प्रयोग गर्न आग्रह गरे । त्यस्तै उनले एकतातिर करोडौँका विद्यालय भवन निर्माण भइरहेका बेला अर्कोतिर बसाइसराइले गाउँ रित्तो बन्ने बिडम्बना देखिएको बताए । ‘बसाइसराइले गाउँहरु रित्ता हुँदै गए । विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनिरहेका छन्,’उनले भने,‘गाउँमा गुणस्तरीय शिक्षा र जीविकोपार्जनका उपायहरु सोच्नुपर्छ ।’

विद्यालय निर्माणको लागि आर्थिक वर्ष ०७७÷०७८ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट ७० लाख, संघीय शसर्त अनुदान ७५ लाख र आर्थिक वर्ष ०७८÷०७९ मा संघीय शर्सत अनुदान ६६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख तथा विद्यालयको १६ लाख ५० हजार गरेर दुई करोड ४५ लाख ५० हजारको लागतमा १२ कोठे भवन तथा सभाहल निर्माण गरिएको विद्यालयका प्रध्यानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै पूर्वमन्त्री बिष्टले जनज्योति मावि मुसिकोट नगरपालिका–१ पैदी अरेवाले विद्यालयको हिरक महोत्सवको अवसरमा सवैभन्दा बढी चन्दा प्रदान गर्ने व्यक्तिको शालिकको अनावरण तथा स्मृति कक्षको उद्घाटन गरेको छ । मुसिकोट नगरपालिका–१ पौदी अरेवा निवासी स्वर्गीय डालेश्वर भुसालले सम्झनामा विद्यालय प्राङ्गणमा शालिक निर्माण गरिएको विद्यालय व्यावस्थापन समिति अध्यक्ष भुपेन्द्र रायमाझीले बताए ।

डालेश्वर भुसालको परिवारले विद्यालयको लागि १५ लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गरेका थिए । भुसालको ०७८ वैशाख २० गते निधन भएको थियो । त्यस्तै उमानन्द भुसालको नाममा स्मृति कक्षा निर्माण गरिएको छ । उनले विद्यालयलाई पाँच लाख एक रुपैयाँ सहयोग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रायमाझीले बताए । साथै बिद्यालयको हिरक महोत्सव स्मारिक बिमोचन, चन्दादाता र विद्यालयका विभिन्न पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, मेक्सम खाती, सुजता परियारलगायतको बजोड सांगितीक प्रस्तुती रहेको थियो ।

सोही अवसरमा विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न नृत्य तथा अभिनय प्रस्तुत गरे । विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री बिष्टसहित मुसिकोट नगरपालिकाका मेयर जीवन खरेल, पूर्वमेयर सोमनाथ सापकोट, उपमेयर गंगा श्रेष्ट, वडाध्यक्ष मोहन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।