लुम्बिनी प्रदेश सरकारले मनायो स्थापना दिवस, ६१ जना विभूषित

मेचीकाली संवाददाता

३ फाल्गुन २०७९, बुधबार
196 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाएको छ । ३ फागुन २०७४ मा पहिलोपटक प्रदेशमा सरकार गठन भएको थियो । प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको थियो ।

प्रदेश सरकारले स्थापना दिवसमा प्रदेश पदक महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरेको छ भने विभिन्न समुदायको झाँकी सहितको कला संस्कृति प्रस्तुत गरेर दिवस मनाइएको छ । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने बताएका छन् । ‘हामी जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ, नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौँ ।’, मुख्यमन्त्री गिरीले भने ।

संविधानले ३ तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यावहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा राखे । आगामी पाँच वर्षभित्रमा प्रदेशको राजधानीलाई नमुना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताए ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योग्दान पु¥याएको भन्दै विभूषित गरिएको हो । मुख्यमन्त्री प्रज्वलदीप पदकबाट डा. मोहिउद्दिन किदवाई, डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ ।

मुख्यमन्त्री लिला गिरीको अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न समुदायको कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।