विजयनगरमा उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम

मेचीकाली संवाददाता

३ फाल्गुन २०७९, बुधबार
323 shares

पार्वती आचार्य
कपिलवस्तु । बिजयनगर गाउँपालिकाले उपाध्यक्षसंग सुत्केरी आमाहरुका लागि कोसेली कार्यक्रम संचालन गरेको छ । सुत्केरीपश्चात सुत्केरी आमा र बच्चालाई कोसेलिको रुपमा दिइएको पोषिलो खानेकुराबाट केही सहयोग मिल्छ भन्ने उद्देश्यले उपाध्यक्षसंग सुत्केरी कोसेली कार्यक्रम संचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताइन् ।

पाध्यक्षसंग सुत्केरी कार्यक्रम कोसेली झोलामा सुपानेट झुल, क्याल्सियम सिरफ, सावुन, घिउ, महलगायत आमा र बच्चाका लागि आवश्यक सामग्रीहरु रहेको उपाध्यक्ष चौधरीले बताइन् । गत आर्थिक वर्षमा २ सय १८ जना सुत्केरी महिलाहरुले सुत्केरी कोसेली प्राप्त गरेका थिए भने यस आर्थिक वर्षमा ४२ जनाले उक्त सेवा पाएका छन् ।

कपिलवस्तु जिल्लाको दश स्थानियतहमध्ये दुर्गम मानिने यस बिजयनगर गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि यस पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुबाट रिफर भएर जानेहरुका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए ।

यस्तै नेपाल सरकारले दिंदै आएको चारपटक सम्म प्रोटोकलअनुसार स्वास्थ्य परिक्षणवापतको सुविधा र यातायातको सुविधासमेत दिंदै आएको स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए । स्वास्थ्य संस्थामा नियमित जाँच गरेका र स्वास्थ्य संस्था वा अस्पतालमा सुत्केरी गराउने सुत्केरी महिलाहरुले सेवा पाइरहेका छन् । यसैगरी यसपालिका भित्र स्थायी बसोबास नभई अस्थायी रुपमा बसोबास गरेका महिलाहरुलाई समेत पालिकाले उक्त सेवा दिएको छ ।

यसैगरी बालवालिका उद्दार तथा राहात कार्यक्रम बिपन्न परिवारकालागि रु.५ हजार रुपैंया बराबरको सामाग्रीहरु बितरण गरिएको छ । बालमैत्री घोषणाका लागि ५ वर्षीय रणनीति योजना तयार गरिएको छ भने बालविवाह मुक्त नीति तयारसमेत गरिएको उपाध्यक्ष चौधरीले बताइन् ।

साथै लैंगिक हिंसा न्यूनिकरण गर्नकालागि पुरुषसंगको सहकार्य, तेस्रो लिंगीको पहिचानको लागि वडास्तरीय कार्यक्रम, बालश्रम मुक्तकालागि बिभिन्न सरोकारवालाहरुसंग छलफल तथा अनुगमन गर्ने पालिकाको लक्ष्य रहेको छ ।