दर्लमडाँडामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

मेचीकाली संवाददाता

४ फाल्गुन २०७९, बिहीबार
219 shares


पाल्पा । युवा तथा खेलकुद विकास समिति बगनासकाली ५ दर्लमडाँडाको आयोजनामा २ दिने आधारभुत पत्रकारिता तथा उद्घघोषण तालिम सम्पन्न भएको छ ।

५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा भएको तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना र पत्रकार नेत्र गैरेले स्टेज उद्घघोषण तथा आधारभुत पत्रकारिता विषयमा सहजीकरण गरेका थिय ।

तालिमको समापन कार्यक्रममा वडाअध्यक्ष ओमप्रकाश गैरेले वडाभित्र रहेका युवाहरुको नेतृत्व व्यक्तित्व विकासको उद्देश्यले यसप्रकारको तालिम आयोजना गरिएकाले सिकेका सीपहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले आगामी दिनमा पनि सबै क्षेत्रको सुझाव सल्लाह बमोजिम वडाका गतिबिधिहरुलाई अगाडि बढाइने बताए ।

बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य खुमादेवी भट्टराईले अव युवाहरुले समय सापेक्ष ज्ञान सीप लिदै अगाडि बढ्नुपर्ने बताइन । वडा सचिव गोपालप्रसाद न्यौपानेले वडा कार्यालय र वडा मार्फत भएका योजना र गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन युवाहरुको भूमिका पनि महत्वपूर्ण रहने बताए ।

प्रशिक्षक एवम् श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले प्रशिक्षार्थीहरुलाई स्थानीय सञ्चारमाध्यममा स्थानीय खबर पठाउन आग्रह गरे । तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी अनुभव डिलीसरा भट्टराई र देबी भण्डारी बस्यालले तालिमबाट धेरै कुराहरु सिक्ने मौका मिलेको र आफूहरुको नेतृत्व व्यक्तित्व विकासमा तालिम सहयोगी बनेको बताए ।

युवा तथा खेलकुद विकास समिति दर्लमडाँडाका अध्यक्ष मिन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशिक्षार्थीद्वय धनी दर्लामी र सबिना बस्यालले गरेका थिए । तालिममा वडाभित्रका ३० जना युवाहरुको सहभागिता रहेको थियो ।