आज महाशिवरात्री पर्व मनाइँदै

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
263 shares

बुटवल । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

यसैबीच रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनहरूको घुँइचो लागेको छ । भक्तजनहरूलाई मन्दिर दर्शनका लागि राति २ बजेदेखि नै खुला गरिएको छ । शिवरात्रिको अवसर पारेर मन्दिरलाई चिटिक्क सिँगारिएको छ । योसँगै यहाँ आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको मन्दिर विकास विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए ।

शिवरात्री पर्व मनाउन पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागी सिसी क्यामेराको निगरानी, स्वास्थ शिविर, सिद्धबाबा मन्दिर दर्शन गर्न जान चाहाने भक्तजनहरुका लागि नियमित रुपमा सञ्चालन हुँदै आएको बुटवलको योगिकुटीबाट सिद्धबाबा मन्दिरसम्म मन्दिर समितिकै बस बिहान ५ बजेदेखि सञ्चालन हुने कार्यसमिति सदस्य तथा शिवरात्री पर्वका संयोजक तोया लम्सालले बताए । शिवरात्रीका दिन रुपन्देहीका विभिन्न पालिका र तिनाउ गाउँपालिका गरी ७ ओटा बस दिनभरि ओहोरदोहोर गर्ने लम्सालले बताए । गतवर्षको शिवरात्रीमा ३० हजार भक्तजनले दर्शन गरेको बताउँदै यो वर्ष शनिबार परेकाले पनि करिब ६० हजार भक्तजन भित्र्याउने गरी तयारी गरिएको समितिका उपाध्यक्ष अमरसिं प्रधानले बताए । पूजा सम्पन्न गर्न स्वयंसेवकको रुपमा विभिन्न सातवटा संघसंस्थासँग समन्वय गरिएको छ । भक्तजनको चापअनुसार स्वयंसेवक खटिने र व्यवस्थित गर्नेगरी तयारी गरिएको समितिले जनाएको छ । रुपन्देही आसपासमा रहेका भजन मण्डलीबाट भजन किर्तन र सोही रात जाग्रामसहितका विशेष पूजाआजाको तयारी गरिएको छ ।

सिद्धार्थ राजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ । सडकको छेउमै मन्दिर रहेको र पहाडको फेदीमा रहेकोले यहाँ ठाउँ अभाव हुने गरेको छ । मन्दिरमा नेपालका करिब ७० जिल्ला र भारतको गोरखपुरबाट ३० प्रतिशतसम्म भक्तजन आउने गरेका छन् । रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको लुम्बिनी प्रदेशकै पशुपतिनाथका रुपमा परिचत सिद्धबाबा मन्दिरमा शिवरात्री पर्व, शनिबार, सोमबारमा विशेष भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । यसवर्ष पनि मन्दिर क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायतमा लागुपदार्थ निषेध गरिएको छ ।