शिक्षक र विद्यार्थीको बोल माया…

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
682 shares


गुल्मी। विद्यालयको वार्षिकोत्सव भएकाले प्राङ्गण रङ्गीन थियो । राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा बेलाखबतमा प्रस्तुत हुने सांगीतिक खुराकले दर्शक उत्साहित थिए । त्यत्तिकैमा गर्भवती महिलासहित तीन जना स्टेज प्रवेश गरे । बोलमाया गीतको धुन बज्न थाल्यो । गर्भवती महिलाको छट्पटिएर रुन थालिन् । कोखका साथीहरुले पीडामा सान्त्वना थपिरहे । जब सोही बेला स्टेजको बिचबाट शव बोकेर चार जना छिरे । परदेशबाट मृत बनेर फर्किएका श्रीमान्को शव छोपेर ती महिलाले पोखेको रोदन र शव तथा गर्भवती कुरेकाहरुको चेहेरा देखेर कार्यक्रम स्थलमा उपस्थित दर्शक मात्रै रोएनन्, अतिथिमा बसेका पूर्वमन्त्री गोकर्ण बिष्टसहित राष्ट्रिय लोक दोहरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेसमेत मन्त्रमुग्ध भए ।

मुसिकोट नगरपालिका–१ पौदी अरेवा वैदेशिक रोजगारीका कारण रित्तो बन्दै गएको छ । गाउँमा बुढा घर र वृद्धहरु मात्रै छन् । सोही विद्यालयमा प्रस्तुत वैदेशिक रोगजारीबाट सिर्जित घटनाको अभिनयले सबैलाई प्रभावित पारेको थियो । गायक तथा सर्जक प्रकाश सपुतको सिर्जनाले सामाजिक जीवन्तता बोकेको छ । यो सपुतको ठुलो परिश्रम र खर्चले निर्माण गरिएको सृजना हो । विद्यालयका शिक्षक र विद्यार्थीले केहिबेरमै ठ्याक्कै अभिनय गरेर दर्शकलाई प्रभावित पारे । मुसिकोट नगरपालिका–१ को जनज्योति माविममा अध्ययनरत प्रिंका दर्जी राम्रो नृत्य गर्छिन् ।

तर, पहिलो पटक गर्भवती अवस्थामा परदेशी श्रीमान्को मृत्युपछि शव छोपेर गरेको अभिनय अब्बल कलाकारको भन्दा कम थिएन । उनले गर्भवती बनेर शोक प्रस्तुत गर्न चुनौति भएपनि राम्रो गर्न सकिएकोमा खुसी व्यक्त गरिन् । ‘धेरै लजाउँछन्, अभियनमा लाज मानेर हुँदैन । म नृत्य गरेपनि अभिनय पहिलोपटक गरेँ,’उनले भनिन्,‘गर्भवती बनेर स्टेजमा प्रस्तुत हुन अप्ठ्यारो थियो ।’ सोही विद्यालयमा शिक्षक विशाल थापा ज्यूँदै मृत बनेर बाँसको डोलामाथि सुते । त्यो अभिनय गर्भवतिभन्दा अझ चुनौतिपूर्ण थियो । अभिनयनै गरिरहने भएकाले थापालाई गाह्रो परेन । विद्यालयमा देखाइएको समग्र बोल माया प्रस्तुतीनै थापाको निर्देशन गरिएको हो । ‘ज्यूँदै मरेसरह अभिनय आफैँमा गाह्रो छ । समग्रमा स्टोरीनै कारुणीक भएकाले दर्शकको मन जित्न सजिलो थिएन,’उनले भने,‘एक्कैछिनको योजनामा शिक्षक बिद्यार्थीले राम्रो गर्न सकियो ।’ उनले प्रकाश सपुतको बोल मायाले उठाउन खोजेको वैदेशिक रोजगारीको पीडा र यो समस्या आफूले अध्यापन गर्ने विद्यालय क्षेत्रमा पनि अत्यधिक भएकाले सन्देशका लागि प्रस्तुत गरिएको बताए । उनी विद्यालयका मावि अंगे्रजी शिक्षक हुन् ।

मुख्य अभिनयमा रहेका प्रिंका दर्जी र विशाल थापा थिए । त्योबाहेक शिक्षक थम विश्वकर्मा, कमल परियार, सज्जन बौद्धाचार्य र अनिश गिरी तथा विद्यार्थी युजिन गिरी र वर्षा नेपालीले पनि अभिनय गरेका थिए । निकै भावुक बनेर बोल मायामा शिक्षक र विद्यार्थीले गरेको अभिनय नियालीरहेका राष्ट्रिय लोक दोहरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने गाउँको प्रतिभा देखेर अत्यन्तै प्रभावित भएको प्रतिक्रिया दिए । संचारको पहुँच वृद्धि भएसंगै श्रव्यदृश्य सामग्रीका माध्यमबाट दुर्गममा समेत अत्यन्तै राम्रा सिर्जनाहरु जन्मिरहेको बताए ।

पूर्वमन्त्री गोकर्ण बिष्टले शिक्षक विद्यार्थीहरुले प्रकाश सपुतको सिर्जनाले समाजको वास्तविक चित्र बोलेकाले त्यसको न्यूनीकरण आजको आवश्यकता भएको बताए । उनले शिक्षक र विद्यार्थीहरुले सपुतकै सिर्जनामा गरेको अभिनय निकै उत्कृष्ट भएको भन्दै सिर्जनाबाट राजनीतिक नेतृत्वले धेरै कुरा बदल्नुपर्ने अवश्यकता रहेको बताए । ‘गाउँ खाली र जमिन बाँझा बनाएर लाखौँ युवा कडा परिश्रमको लागि खाडीमा बेचिनुपरेको छ,’उनले भने,‘दलहरु सदनमा दोषारोपण गरिरहेका छन् ।’