१४औँ कपिलवस्तु महोत्सवलाई आवश्यक संवाद गर्ने व्यापार संघ कपिलवस्तुको निर्णय

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
219 shares

पार्वती आचार्य

कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवलाई आवश्यक संवाद गर्ने उद्योग व्यापार संघ कपिलवस्तुको नियमित बैठकले निर्णय गरेको छ । बैठकमा संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले आगामी एक वर्ष भित्र यस संस्थाले गर्ने कार्यक्रमको बारेमा कार्ययोजना सहितका प्रस्तावहरु पेस गरेका थिए ।

विशेष गरि २०८० मा संचालन गरिने कपिलवस्तु महोत्सवको आयोजनाको सम्बन्धमा बैठकमा व्यापक छलफल गरि निर्णय गरियको छ । महोत्सवलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवस्यक रहेको निष्कर्ष सहित कपिलवस्तुको पहिचान दिनेगरी सम्पुर्ण आवस्यक तयारी गर्न टोपनारायण बेल्बासे, हुमनाथ पौडेल र माधब भाट क्षेत्री रहेको कोर टिम समेत गठन गरिएको व्यापार संघ कपिलवस्तुले जनाएको छ ।

त्यसैगरी बार्षिक कार्ययोजनामा आधारित रहि वार्षिक क्यालेन्डर तयार गर्न वरिष्ठ उपाध्यक्ष यम बहादुर केसिको संयोजकत्वमा ९ सदस्यिय कार्यक्रम उपसमिति गठन गरिएको छ । भने आगामी बैठकमा विषय बिज्ञहरुलाइ समेटी विषयगत उपसमिति समेत गठन गरि संस्थालाइ थप शसक्त बनाउने निर्णय गरिएको अध्यक्ष पौडेल (कोपिल) ले बताए ।

यस्तै संघले बजारमा देखिएको आर्थिक तरलताको कमीको बिषयमा सम्बन्धित निकायहरुमा कुटनितीक तथा व्यवहारिक पहल गर्ने निर्णयहरु समेत गरेको छ । साथै उद्योग व्यापार संघ कपिलवस्तुका सदस्य धर्म बहादुर आलेको गत माघ २९ गते भएको अकल्पनीय निधन प्रती शोक प्रस्ताव पारित गर्दै दिबाङ्गत धर्म आलेको घरमा शोकसभा सहित श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता, गोबिन्द पौडेलको संचालनमा भएको दोस्रो बैठकमा निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले सहजीकरण गरेका थिए । भर्खरै मात्र आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको उद्योग ब्यापार संघ , कपिलवस्तु जिल्ला स्तरिय ब्याबसायिक संस्था हो ।