तौलेश्वरनाथ र शिवगढीमा भक्तजनको भिड

मेचीकाली संवाददाता

६ फाल्गुन २०७९, शनिबार
296 shares

बसन्ती आचार्य

कपिलवस्तु। महाशिवरात्रि पर्वको अवसरमा कपिलवस्तुका बहुचर्चित धार्मिकस्थल कपिलवस्तुको शिवगढी, धानखोला, सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाटलगायतका प्रसिद्ध स्थलमा भक्तजनहरुको भीड लागेको छ । शुक्रबार रातिदेखि नै यी धार्मिक मन्दिरमा शिवको पूजाआराधना गर्न भक्तजनहरुको घुइँचो लागेको थियो ।

महाशिवरात्रि पर्वको अवसरमा नेपालको दोस्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा शनिबार बिहानैदेखि हजारौँको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुइँचो लागेको छ । यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाइने शिवरात्रिको दिन तौलिहवा बजारमा ठूलो मेला लागेको नव कपिलवस्तु साहित्यीक समाजका अध्यक्ष पशुपत्तिमणी त्रिपाठीले बताए ।

शिवजीको रात्री भएको कारण यसलाई महाशिवरात्री भन्ने किंवदन्ती रहेको बताउँदै भक्तहरु अघिल्लो दिनदेखि नै जागरण र ब्रत बसी शिवरात्रीको भोलिपल्ट ब्रतको पारण गर्दै आएको अध्यक्ष त्रिपाठीले बताए । वि.सं १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दू धर्मावलम्वीहरुको ठूलो आस्थाको केन्द्र हो । सम्भवत एशियाकै शिवमन्दिरहरुमा रहेका शिवलिंगमध्ये सबैभन्दा ठूलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको विश्वास गरिन्छ ।
जिल्लाको ऐतिहासिक, पौराणिक शिवगढी मन्दिर, ऐतिहासिक धानखोला मन्दिर र उमरी शिव गुफा मन्दिर परिसरमा हरेक वर्षझैं यस वर्ष पनि हजारौं भक्तजनहरु पुगेका छन् ।

कपिलवस्तु, दाङ र अर्घाखाँची जिल्लाको संगमस्थल साथै उत्तरतर्फ बग्ने धानखोलाले यस स्थानमा अलौकिक शक्ति भएको स्थानीयको जनविश्वास रहेको छ । यस क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरहरुले प्रचुरमात्रामा पर्यटकीय सम्भावना बोकेको देखिन्छ । शिवगढी मन्दिर तराईबाट पहाडको चुचुरोमा अवस्थित छ । करिब ५ घण्टा पैदल हिँडेर पुग्नसकिने शिवगढी नेपालकै चर्चित शिवमन्दिर भएको जानकारहरु बताउँछन् ।

तौलेश्वरनाथ शिवमन्दिर तौलिहवा र शिवराज नगरपालिकाअन्तर्गत शिवगढी, धानखोलालगायतका मन्दिरहरुमा भक्तजनहरुले शान्तिपूर्ण रुपमा पूजाआजा सम्पन्न भएको छ । भक्तजनहरुलाई सहज होस र कहीँकतै अप्रिय घटनाहरु नघटून् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिनबहादुर घलेले बताए ।