राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

मेचीकाली संवाददाता

७ फाल्गुन २०७९, आईतवार
211 shares
NEPAL-PROTEST/

काठमाडौं । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस उपलक्ष्यमा आज टुँडिखेलमा आयोजना गरिने विशेष कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी भएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।

प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उनिहरूले श्रद्धासुमन अर्पण गरेका छन् ।

प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता रहने छ ।