कृषि मेलामा २० लाखको कारोबार

मेचीकाली संवाददाता

७ फाल्गुन २०७९, आईतवार
276 shares

बुटवल । यही फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला–२०७९ शनिबार सकिएको हो ।

पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेका र मेलाभित्र २० लाखको कारोबार भएको संघका अध्यक्ष तथा मेलाका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।
मेलाको समापन गर्दै लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले किसानका समस्या समाधान गर्ने बताए । कृषिको विकासबिना मुलुकको आर्थिक विकास सम्भव नभएको बताउँदै उनले किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थप गतिशिल बनाउने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको बताउँदै कृषिको विकासको लागि नगरपालिकाले ठूलो योजना बनाएको बताउँदै उक्त योजना पूरा गर्नको लागि सबैको साथ र सहयोगको लागि आग्रह गरे । उनले त्यसबाहेक पनि कृषिको व्यवसायिक विकासको लागि नगरपालिकाको तर्फबाट के गर्न सकिन्छ सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघले २०६२ सालदेखि मियमित रुपमा कृषि मेला सञ्चालन गर्दै बताए । नेपालको कूल जनसंख्याको करिब ६५ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउँदै र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको उनको भनाइ छ ।

मेलाको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जमशेर अली मिया, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्ली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सहभागी स्टल भैरव च्याउका सञ्चालक केशव कार्की, लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम न्यौपानेलगायतले भनाइ राखेका थिए ।

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिबल’ समेत आयोजना गरिएको गरिएको थियो । पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमूलक र पोर्क पेष्टिबलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिँचाइ प्रविधि, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मललगायतको प्रदर्शनी गरिएको थियो । त्यस्तै कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ ।

मेलामा गुप्ता नर्सरी उत्कृष्ट
बुटवलको बालमन्दिर परिसरमा सञ्चालन गरिएको एघारौं संस्करणको कृषि मेलामा गुप्ता नर्सरी सर्वोत्कृष्ट भएको छ । स्टलतर्फ तिलोत्तमा–४ रुपन्देहीको गुप्ता नर्सरी सर्वोत्कृष्ट भएको छ भने मनमित ट्रेडिङ भैरहवा प्रथम, जैविक कफी तथा मसला प्रशोधन उद्योग ठूला पोखरा अर्घाखाँची द्वितीय, जलदेवी मत्स्य उत्पादन सहकारी सियारी रुपन्देही तृतीय, बुटवल कृषि प्रशोधन उद्योग बुटवल सान्त्वना र चाइनिज बार्बीक्यू रेष्टुरेन्ट बुटवलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै प्रविधितर्फ नेचुरल दुनाटपरी बुटवल प्रथम, भैरव च्याउ उद्योग पाल्पा द्वितीय, लुम्बिनी च्याउ भण्डार रुपन्देही तृतीय र संघर्ष कृषि तथा पशुपंक्षी फार्म देवदह सान्त्वना भए । त्यस्तै बालीतर्फ उपेन्द्रबहादुर शाही बाणगंगा कफिलवस्तु प्रथम, प्रेमबहादुर पाण्डे बाणगंगा कपिलबस्तु द्वितीय, रोषनबहादुर थापा सिद्धार्थनगर रुपन्देही तृतीय र पाण्डे ब्रदर्श एग्रो फार्म देवदह रुपन्देही सान्त्वना भएको मूल्यांकन तथा पुनरावलोकन समितिका संयोजक संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले बताए ।