कता रोईबसेको छ मेरो दिवस

मेचीकाली संवाददाता

७ फाल्गुन २०७९, आईतवार
394 shares

सीमा बन

अहो दिवसै दिवस
हिजो जनयुद्ध दिवस
अस्ति गणतन्त्र दिवस
आज प्रजातन्त्र दिवस
पर्सी पनि खोई के दिवस छ रे
मलाई भने उही पिरलो पेट भर्नलाई भरे ।।

लोकतन्त्र दिवस, नारी दिवस
शहीद दिवस, कानुन दिवस
चिया दिवस, धान दिवस
उर्जा दिवस, संसद दिवस
लेखक दिवस, अनि कथा दिवस
बर्ष भरिमा ४० भन्दा धेरै मेरा दिवस
कसकालागि आउंछ, केकालागि आउंछ
बुझि नबुझि मैले पनि
टोपी दिवस पारेर टोपी लगाईदिन्छु
धान दिवसको दिन पारेर हिलो खेतमा हिन्छु ।।

मलाई बुझ्ने दिवस ल्याउन
बर्षौ घर छोडियो
मान्दै आका विर पुर्खाका शालीक नि तोडीयो
अंह आएन मैले खोजेको दिवस
न त तोडेर आयो, न त जोडेर आयो
यत्रो दिवसको भिडमा मेरो दिवस
अझै भेटिएको छैन, कतै अड्किएको छ
कता हराएको छ, रोमल्लीएको छ, कतै पुरीएको छ
मेरो दिवस खै कता रोई बसेको छ ।।

तिमीले आज प्रजातन्त्र दिवस देख्यौ
शालीकमा माला लाएको पनि देख्यौ
देख्यौ मात्र होईन
माला लाउनेको भिडमा टक्क उभिएर
तालि पनि पिट्यौ ।
चिन्यौ कि चिनेनौ या चिन्न खोजेनौ
माला पहिरिएका शालिकहरुलाई
तिम्रालागि विर भए या आफ्नै लागि विर
तिम्रालागि बन्या भए त ठिकै छ
तर उनकैलागि बन्या भए दुईटा कुरा हुन्छ
कि त तिमी शालीकको पनि दास बनेका छौ
कित तिमी उनकै मालिकका गास बनेका छौ।।
सधै कसैको गास र दास बनेर

कतिदिन मनाउने दिवस
आंखा खोल, मनलाई चेत
तिम्रालागि आउने दिवस, अझै आईपुगेको छैन
कता हराएको छ, कता पिरोलिएको छ
कता अड्किएको छ, कता थुनिएको छ
खै तिम्रो दिवस कता रोई बसेको छ ।

आउला कि त्यस्तो दिवस
जुन दिवस पछि कोही
एक मुठी अन्नको अभावले भोकै बस्न नपरोस
कठ्याङ्ग्रीदो चिसोमा एकसरो लुगाको अभावमा
ओत बिनाको जमीनमा
सीम्ठा सीम्ठी जोरजाम गरी आगो फुक्न नपरोस
प्रसव पीडामा उपचार नपाई प्राण त्याग्न नपरोस
अस्पतालको लाईन कुर्दाकुर्दै शववाहन चढ्न नपरोस
कोही जिउंदै जल्न नपरोस
चाकडी, चाप्लुसी अनी पापड दल्न नपरोस
कसैको अपमान नहोस, कतै विभेद नहोस
कोही तीरस्कृत नहोस
नातावाद र कृपावादले कोही पुरस्कृत नहोस
डर त्रास नहोस कतै
हरेक सांझ घर फर्किने नफर्किने अनिश्चीतता हटोस
तिमीलाई चाहिंदैन र यस्तो दिवस
युगौंको बार भत्काएर
तिमीले मैले ल्याएको दिवस के यस्तै होला त ?
कतै भेटिन मैले दिवसको भिडहरुमा मेरो दिवस
कता भ्रममा परी मुहानमै थुनिएको छ मेरो दिवस
कता रोई बसेको छ मेरो दिवस ।।