लुम्बिनी प्रदेश सरकारमा जसपाको इन्ट्री, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल नियुक्त

मेचीकाली संवाददाता

७ फाल्गुन २०७९, आईतवार
227 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सामेल भएको छ । आइतबार जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेका छन् ।

जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्रि कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाएको हो । मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख शेरचनले अहिरलाई नियुक्त गरेका हुन् । अहिरलाई भोलि सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताए ।

यसअघि गत माघ २८ मा मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो । त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपालाई सामेल गराएका हुन् ।

लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन् । यद्यपी मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका शर्मालाइै मुख्यमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीयका रुपमा राखिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।