स्कटल्यान्डमाथी नेपालको रोमाञ्चक जित

मेचीकाली संवाददाता

९ फाल्गुन २०७९, मंगलवार
236 shares

काठमाडौं । कप्तान रोहित पौडेलेको शानदार इनिङप्रेरिन नेपालले त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा च्याम्पियन स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १०१ बलमा सात चौका र चार छक्कासहित अविजित ९५ रनको महत्त्वपूर्ण इनिङ खेले। नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नवौं विकेटका लागि रोहित र करण केसीले नवौं विकेटका लागि ७५ रनको ऐतिहासिक साझेदारी गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए। रोहित र करणको नवौं विकेटका लागि साझेदारी गरेको सर्वाधिक ठूलो साझेदारी हो। यसअघि यो कीर्तिमान सोमपाल कामी र सन्दीप लामिछानेको नाममा थियो। उनीहरूले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ४१ रनको साझेदारी गरेका थिए।

यस्तै, करणले ३७ बलमा दुई चौका र एक छक्कासहित ३१ रनको इनिङ खेले।

नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका थिए। यस्तै, कुशल मल्ल १७, सन्दीप जोरा एक, दीपेन्द्रसिंह ऐरी सात र सोमपाल कामी दुई रन बनाएर आउट भए। यस्तै सन्दीप लामिछाने ९ रनमा पेभेलियन फर्किएका थिए।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक तीन विकेट लिएका छन्। क्रिस ग्रिभिसले दुई तथा ब्रान्डोन म्याकमुलेन, सफ्यान शरिफ र माइकल लिस्कले एक–एक विकेट लिए।

पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो।

नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो। तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन।

स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडेका थिए।
त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए।

यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। यसअघि नामिबियालाई दुवै खेलमा पराजित गरेको नेपालले यो शृंखलाका चारै खेल जितेको छ।

चार वटै खेलमा नेपालले लक्ष्य पछ्याएर जित निकालेको हो। सबै खेलमा लक्ष्य पछ्याएको नेपालले तीन खेलमा दुई सय ७० रनभन्दा ठूलो लक्ष्य पूरा गरेको थियो। शृंखला सुरु हुनुअघि दुई सय ५५ रनको लक्ष्य पछ्याएको कीर्तितमान थियो। तर, शृंखलाको पहिलो खेलमै नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको कीर्तिमानी लक्ष्य पूरा गरेको थियो।

त्यसपछि दोस्रो खेलमा स्कटल्यान्डले दिएको र तेस्रो खेलमा नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले पूरा गरेको थियो। तुलनात्मकरूपमा नेपालले मंगलबार अपेक्षित सुरुआत गर्न सकेको थिएन। नेपालले १८.४ ओभरमा ६१ रन बनाउँदा पाँच विकेट गुमाएको थियो। यद्यपि, रोहित र करणको उत्कृष्ट साझेदारीमा नेपाल जित निकाल्न सफल भयो।

नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न बाँकी आठवटै खेल जित्नुपर्ने दबाब छ। नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ। त्यसपछि नेपालमै हुने अन्तिम शृंखलामा पीएनजी र यूएईसँगै त्रिवि क्रिकेट मैदानमा नेपालले खेल्ने छ।

नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने बाध्यता छ।