सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम अघि बढ्यो, डाइभर्सन बनाउन सडक बन्द

मेचीकाली संवाददाता

११ फाल्गुन २०७९, बिहीबार
219 shares

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । फागुन १३ गतेदेखि १५ दिनसम्म दिनरात गरेर दैनिक आठ घण्टा सडक बन्द हुनेछ ।

वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । सो समयावधिमा काम गरिने जनाइएको छ ।
सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु.सात अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानिनोक्सानी हुने गरेको छ । पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिराले बर्सेनी धेरैले ज्यान गुमाउनु परिरहेको छ ।