वनबाटिकाको टिकट अब अनलाइनबाटै

मेचीकाली संवाददाता

११ फाल्गुन २०७९, बिहीबार
203 shares

बुटवल । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । यसका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिले आईएमएसमार्फत अनलाइन टिकटिङ सफ्ट्वेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

बुधबार वनबाटिकामा आयोजित एक समारोहबीच शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिले अनलाइन टिकटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वनबाटिकालाई हस्तान्तरण गरेको छ । सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रविधिको उच्चतम प्रयोगबाट नै व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताए ।

डिजिटिल बैंकिङले नगद बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभई नगद पैसा छाप्दा हुने राज्यको अरबौ खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने पौडेलले औंल्याए । बैंकहरुले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आएका र अर्थतन्त्रको एउटा विश्वसनीय माध्यम भएकाले नाफामुलक संस्था मात्रै भनेर बुझ्न नहुने आग्रह गरे । वन वाटिकासँग आगामी दिनमा थप सहकार्य गर्ने पौडेलले बताए ।

वनबाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाएपनि कोरोना महामारीका कारण ढिलाई भएको भन्दै अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताए । उनले वन वाटिकामा एक वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने बताए ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले अहिलेको युग सूचना प्रविधिको भएकाले आफ्नो सेवा तथा सुविधालाई प्रविधिसँगै जोड्दै जाँदा त्यसबाट सेवा प्रदायक संस्था र सेवाग्राही र उपभोक्ता दुवैलाई सहज हुने र समयको वचत हुने बताइन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानी प्रवद्र्धनलाई अभियानकै रुपमा अगाडि बढाएकोे उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सो अवसरमा बैंकका ब्राण्डिङ तथा मानव संसाधन विभाग प्रमुख प्रभास राई, प्रमुख प्रविधि अधिकृत शैलेशकुमार श्रीवास्तव, ईसेवा क्षेत्रीय प्रबन्धक कमल सापकोटा र आईएमएसका शाखा प्रबन्धक आशिष भुसालले काठमाडौं बाहिर प्रधान कार्यालय रहेको र लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो शाखा सञ्जाल र धेरै ग्राहक भएको शाइन रेसुङ्गाले नेपाल राष्ट्र बैंकको नीतिअनुसार डिजिटल बैंकिङ साक्षरता र डिजिटल भुक्तानीलाई प्राथमिकताका साथ प्रवद्र्धन गरेको उल्लेख गरे ।