रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

मेचीकाली संवाददाता

१५ फाल्गुन २०७९, सोमबार
145 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो।

बैठकपछि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारे कुनै निर्णय लिइनसकेको जानकारी दिए।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेका बताए।

आज एमालेले भने सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ। राप्रपाले भने शनिबारै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ।