कपिलवस्तु नगरपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

मेचीकाली संवाददाता

१५ फाल्गुन २०७९, सोमबार
211 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक, मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिकाको समन्वयमा स्थानीय स्तरमा वातावरण अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिभिन्न सरोकारवालाहरुको सहभागितामा फागुन १५ गते कपिलवस्तु नगरपालिकामा कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले वातावरणको संरक्षण गर्न सबै सरोकारवालाहरुको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । स्थानिय सरकारकालागि इन्सेकले खबरदारी गर्ने कार्य गर्दै आएको भन्दै इन्सेक मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिनु भयो । यस नगरपालिकालाई सौन्दर्य र संमृद्ध नगर बनाउन नगर प्रतिवद्ध रहेको बताउँदै स्थानिय तहलाई खबरदारी गर्दै वातावरण संरक्षण गर्नु सबैको दायित्व भएकोले यस संस्थासंग समन्वय सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

फोहोर व्यवस्थापन र सरसरफाईमा ध्यानदिने छौं , अनुगमनमा प्राथमिकता दिने छौं , राज्यले निशुल्क बितरण गर्ने बिभिन्न ४६ प्रकारका औषधीहरु स्वास्थ्य चौकीहरुमा कमी हुन दिने छैनौं , नगरभित्रका बिभिन्न उद्योगहरुमा अनुगमन गर्ने र सचेतीकरण अभियान संचालन गर्ने मेयर पौडेलले बताउनु भयो । यस्तै शिक्षामा सुधार ल्याउन नगरका ५२ वटा सामुदायीक बिद्यालयहरुको अवस्थालाई बिस्तारै सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउँदै सरोकारवालाहरुले देखेका समस्याहरुलाई फोन मार्फत भएपनि जानकारी गराउन आग्रह गर्नुभयो ।

यसैगरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवालीले नगर सभाबाट पारित भएका कार्यविधीको बारेमा जानकारी दिंदै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार संरक्षण गर्न प्राकृतिक श्रोतको समुचित उपयोग तथा दिगो व्यवस्थापन गर्न र स्थानियतहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७ , नगरसभाबाट पारित ०७७ असार २६ पारित भएको र प्रमाणिकरण ०७७ असार ३० गते भएको बताउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तवले गैसस महासंघ वातावरण संरक्षणको अधिकारको बिषयमा प्रतिवद्ध रहेको बताउनु भयो । नगरले छुट्याउने बजेट भौतिकपूर्वाधार तर्फमा भएको भन्दै फोहोर व्यवस्थापनकालागि बजेटलाई प्राथमिकतामा राख्न पर्नेमा जोडदिनु भयो ।

मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले वातावरणको अधिकार सम्बन्धि निती तथा कार्यविधीलाई नगरपालिकाले सक्रिय रुपमा अगाडी बढाउन अनुरोध गर्दै वातावरण सबै प्राणीकालागि आवश्यक भएको बताउनु भयो । यस्तै उहाँले शिक्षा , स्वास्थ्य , वातावरण , लैंगिक विभेद , बाल विवाह , दाईजो प्रथा र जातिय विभेद लगाएतका बिषयमा नगरसंग समन्वय गरी समुदायमा बिभेद न्यूनिकरणका लागि इन्सेक मानव अधिकार समूह र नगरको समन्वय रहने प्रतिवद्धता जनाउनु भयो ।

मानव अधिकार समूहका सहल्लाहकार पशुपत्तिमणि त्रिपाठीले वातावराण प्रदुषणले स्वास्थ्यमा नकारात्मक असरपर्ने भएको हुँदा यस बिषयमा सबैको ध्यानाकर्षण हुन जरुरी देखिएको बताउनु भयो ।

मानव अधिकार समूहका सदस्य प्रेरणा बिष्टले नगरका बिभिन्न स्थानहरुमा महिला , पुरुष र तेश्रोलिङ्लीलाई लक्षित गरि सार्वजनिक सौचालय निर्माण गर्न आग्रह गर्नुभयो । किशोरी अधिकार मञ्चकी उपाध्यक्ष साधिका रैदासले सरकारले बिद्यार्थीहरुलाई निशुल्क बितरण गर्ने सेनेटरी प्याड प्रर्याप्त नपाएको भन्दै यस प्रति नगरपालिकाले अनुगमन गर्न आग्रह गर्नुभयो ।

बाल अलअधिकार चेतना समूहका सदस्य रामनारायण गुप्ताले नगरका धेरै स्थानहरुमा सौचालयमा गुईठा राखेको सौच खुल्ला क्षेत्रमा गर्दै आएको बताउनु भयो । यस्तै सहभागि रिता थापाले सरकारी कार्यालयको नजिक सार्वजनिक सौचालयको निर्माण गर्न नगर प्रमुख पौडेललाई आग्रह गर्नुभयो ।

इन्सेक प्रतिनिधी पार्वती आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानियतहमा वातावरणको अधिकार सम्बन्धि अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरे , वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे , वडा नं १ का वडा अध्यक्ष मोहम्मद जाहिद खान , स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरोजा चौधरीको आतिथ्यता रहेको थियो ।

यसैगरी रत्नराज्य लक्षमी माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरी , बाल अधिकार संरक्षक शिक्षक रामशरण चौधरी र यशोधरा माविका बाल अधिकार संरक्षक शिक्षक बिकास बञ्जाडे , बरिष्ठ मानव अधिकारकर्मी राम दयाल ठाकुर , नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य , नेपाल टेलिभिजनका संवादाता बासुदेव बर्मा , मेचिकाली राष्ट्रिय दैनिकका सुनिल आचार्य र समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन समूहका उपाध्यक्ष नूर मोहम्मद मुसलमानले गर्नु भएको थियो ।