बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्मअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । नेकपा (एमाले) कोे ग्रासरुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्मअनुसार अगाडि बढ्छौँ ।’
प्रदेशसभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘हालसम्म संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा देखिएको छैन । सत्ता साझेदार दलसँगको आपसी समझदारीअनुसार अगाडि बढिरहेका छौँ । प्रदेशसभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्छौँ ।’
केन्द्रीय सरकारमा देखिएको समस्याले बामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी कार्य हुन थालेको बताए । ‘एमाले–माओवादी बीचको गठबन्धन टुट्नु बामपन्थी आन्दोलन माथिको कुठाराघात हो । यसले बामपन्थी आन्दोलन थप पछाडि धकेलिने खतरा बढ्यो । विदेशीको इसारामा परिवर्तन विरोधी गतिविधि सञ्चालन भइरहेका छन् । यसले मुलुक थप संकटग्रस्त बन्छ ।’
नेपाली जनताको लामो संघर्षपछि राजनीति आन्दोलनमा सफलता प्राप्त गरे तापनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्री गिरीले पार्टीलाई जनतासँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताए । जनताको माया र सद्भावबाट हुर्किएको नेकपा (एमाले) जनताको बीचबाट टाढा हुन थालेपछि जनतासँग पार्टीलाई जोड्न मिसन ग्रास रुट अभियान सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।