

हरि शर्मा
परासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । सोमबार अध्ययन गर्न आएका विद्यार्थीहरुमध्ये ५ जना बेहोस भएका थिए ।
मंगलबारफेरि ती ५ जनासहित थप ५ गरी १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताए । बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्रा हुन् । केही छात्रा बिहानको प्रार्थना सकेर जाने क्रममा सिँढीमा बेहोस भएका थिए भने केही कक्षाकोठामा बेहोस भएका थिए ।
बेहोस भएकाहरुलाई तत्कालै पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचारपछि उनीहरु घर फर्केका छन् । बेहोस हुने धेरै छात्रा एकै परिवारका (दाजुभाईका छोरी) छन् । केही छिमेकी छन् । बेहोस भएका सबै एउटै गाउँका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहम्मद नुरुल होदाले बेहोस भएर अस्पताल आएका सबै छात्राले तल्लो पेट दुखेको बताएका थिए । ‘उनीहरुको शरीर पूरै कडा थियो । लामोलामो सास फेरेको अवस्था आएका थिए । होसमा रहेका उनीहरुले बोलेका सबै कुरा भने बुझेका थिए,’डा. होदाले भने । धेरैजसो पाठेघरमा समस्या भएका महिलाहरुमा यस्तो समस्या देखिने गरेको उनले बताए ।
रजश्वला हुने समय भएका र भइसकेका केही महिलाहरुमा यदाकदा यस्तो समस्या देखिने गरेको होदाले बताए । ‘पहिला यसलाई मास हिस्टेरिया भनिन्थ्यो । अहिले चिकित्सकहरुले त्यो शब्दलाई हटाउँदै लगेका छन् । समग्रमा यो व्यवहारिक समस्या हो । ठूलो समस्या होइन,’डा. होदाले भने । छात्राहरु बेहोस भएपछि अस्पतालले मनोसामाजिक परामर्शसहितको चिकित्सकको टोली विद्यालयमा पठाएको थियो ।
छात्राहरु बेहोस भएपछि अभिभावहरु आएर विद्यालयमा भूत प्रेत रहेको भन्दै पूजाआजा गर्न भनेका थिए । ‘देवी देउता र भूत प्रेतको पछि लाग्नु हुँदैन । सामान्य समस्या भएको र त्यसलाई सहज रुपमा लिनका लागि जानकारी दिन बुधबार अभिभावक र शिक्षकहरुलाई बोलाएर कार्यक्रम गर्न लागिएको होदाले जानकारी दिए । यो एक प्रकारको रोग रहेकाले बारम्बार त्यसलाई सम्झि राख्न र अरुले पनि त्यसलाई सम्झाउने प्रयास गर्न नहुने डा. होदाको सुझाव छ ।