जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुद्वारा सरोकारवालाहरु बिच अन्तरक्रिया

मेचीकाली संवाददाता

१७ फाल्गुन २०७९, बुधबार
314 shares

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता नामावली अद्यावधिक (दावि विरोध समेत) कार्यक्रम २०७९ को सन्दर्भमा जिल्लाका बिभिन्न राजनितीक दल, संघ संस्था एवं सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न र अद्यावधिक गर्नको लागि सहज पहुँच प्रदान गर्ने बताउनु भयो । यसैगरी मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रुटिहरु सच्चाउने र मृत्यु भएकाहरुको विवरण हटाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मतदाता नामावली अद्यावधिकमा सम्पूर्ण राजनितीक दलहरुको अहम भूमिका रहने भएको हुँदा छुटेका मतदाताहरुलाई समाहित बनाउन आग्रह गर्नुभयो । निर्वाचनको नजिकै पुग्दा मात्र राजनितीक दलका प्रतिनिधीहरु दौडधुप गर्नु भन्दा समयमानै ध्यानदिए मतदाताहरु आफ्नो मतदानगर्ने अधिकारबाट बञ्चित नहुने र मतदाताहरुको नामावली पनि बृद्धि हुनेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला प्रतिनिधि सुशिला दर्लामी, नेपाली काग्रेसका प्रतिनिधी राम आशिष पाण्डेय लगाएतले मतदाता नामावली अद्यावधिकको बिषयमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । इन्सेक मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी, नियोक संयोजक पशुपत्तिमणी त्रिपाठी राजनितीक दलका प्रतिनिधीहरु, नागरिक समाज गैर सरकारी महासंघ, मानव अधिकारकर्मीहरु, सुरक्षाकर्मी र संचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।

स्थानियतहका वडा कार्यालयहरु र जिल्ला निर्वाचन कार्यालयमा २०७९ फागुन २२ गते सुचना प्रकाशन गर्ने र २३ देखि २५ गते सम्म त्रुटिहरु सच्याउने, दोहोरो नामावली हटाउने, झुटा विवरण उपर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनु भयो ।