गौतमबुद्ध विमानस्थलमा जजिराले सातामा तीन उडान गर्ने

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७९, बिहीबार
296 shares

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले पुनः उडान सुरु गर्नेे भएको छ । हुस्सुका कारण भिजिबिलिटी कम भएको बताउँदै गएको पुस ६ गतेदेखि उडान रोकेको जजिराले आगामी फागुन २५ गतेदेखि सातामा ३ दिन उडान गर्न लागेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जजिरा एयरवेजले फागुन २५ देखि कुवेतका लागि सातामा ३ दिन उडान गर्ने जानकारी दिए । जसअनुसार भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे कुवेतका लागि उडान हुनेछ । त्यस्तै कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ः५० बजे उडान हुनेछ । भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहका अनुसार जजिराले नेपालको प्रवद्र्धनमा सहयोग पु¥याउने छ । उनले भने,‘यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पु¥याउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । कार्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले पनि गत पुस १ गतेदेखि उडान रोकेको छ ।
विमानस्थल सञ्चालमा आएसँगै यहाँबाट १५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यो अवधिमा १३ हजार ५९३ जना यात्रु विमानस्थलमा अवतरण गरेका छन् भने १८ हजार २५ जनाले यहाँबाट उडान सेवा लिएका छन् ।

विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ ।