शुद्दोधन गाउँपालिकाका सेवा ग्राहिलाई डिजिटल प्रविधिबाट सेवा दिइने

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७९, शुक्रबार
221 shares


फर्साटिकर, फाल्गुन १९

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा डिजिटल प्रणालीबाट सेवा ग्राहीहरुलाई सेवा प्रवाह गरिने भएको छ
सो कार्यक्रम सफल कार्यान्वयनको लागि बिहीवार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ-सिफारिसको प्रयोग तथा प्रारम्भिक प्रस्तुति गरिएको छ।
गाउँपालिकाले सेवाग्राहीको सहजीकरणको लागि ‘स्मार्ट पालिका ’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी गरेको छ।
सेवालाई सहजीकरण गर्न लागु गरिएको एपको प्रयोग गर्न गाउँपालिका अध्यक्ष, वडाका अध्यक्ष र कर्मचारीलाई प्रारम्भिक चरणको तालिम प्रदान बिहीवारबाट दिन शुरु गरिएको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यालयमा डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहमा सेवा ग्राहीहरुलाई छिटोछरितो काम सम्पन्न हुने बताउनुभयो ।
गाउँपालिकाका नागरिकलाई अधिकतम सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवा सुरु गर्न लागिएको उहाले बताउनुभयो ।जनतामा सेवा प्रवाह गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरुले डिजिटल प्रविधिको प्रयोग सक्रिय रूपमा गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिकामा १ महिना भित्र प्रारम्भिक चरणमा सामान्य सेवा प्रवाह गरिने र समय सङ्गै अन्य सेवाहरुपनि बिस्तार गरिने उहाले बताउनुभयो ।
स्मार्ट पालिका सफ्टवेयर डेभलपरले तयार गरेको एपमा गाउँपालिकाका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जन गुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोज भट्टराईले बताउभयो। उहाले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट पालिकाले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दाबी गर्नुभयो । उहाका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा काठमाडौ महानगर र वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप गाउँपालिकामा सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो ।

आवश्यक कागजात अपलोड गरेर महानगरले तोकेको सेवा शुल्क तिरेपछि डाउनलोड या प्रिन्ट गरी लिन सकिने गरी स्मार्ट सेवा दिन एप निर्माण गरिएको उहाले बताउनु भयो ।
स्थानीय सरकारलाई प्रविधिमैत्री बनाउदै ,
जनसहभागीता बढाउने गरि यो एप महत्त्वपूर्ण रहेको
एसिया फाउन्डेसनका प्रदेश संयोजक गोबिन्द
बस्नेतले बताउनुभयो ।
सेवाग्राहीले यो प्रविधिको सेवा विश्वको जुनसुकै देशबाट गर्न सकिने उहाले बताउनुभयो। गाउँपालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले समयको माग अनुसार स्थानीय निकायले सेवा ग्राहिलाई छिटोछरितो सेवा प्रदान गर्नको लागि डिजिटल प्रविधिलाई प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरुले एकदमै राम्रो सुरुवात भएको भन्दै यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका थिए ।