छोरा बराबर छोरीलाई पनि अवसर दिनुपर्छः अध्यक्ष थापा

मेचीकाली संवाददाता

२५ फाल्गुन २०७९, बिहीबार
209 shares

सुनिल आचार्य

कपिलवस्तु । बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले छोरा बराबर छोरीलाई पनि अवसर दिनुपर्ने बताउनु भयो । अभिभावकहरुले छोरीहरुलाई जानीजानी अंकुश लगाउँदा छोरीहरु अधिकारबाट बञ्चित हुन पुगेको बताउनु भयो । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै थापाले यस्तो बताउनु भएको हो । पहिलाको तुलनामा अहिले महिलाको अवस्थामा सुधार हुँदै गएको भएपनि त्यो प्रर्याप्त नरहेको बताउँदै महिला दीदीबहिनीहरुबाट नै हिंसाहरु हुँदै आएको हुँदा आफ्ना छोरी र बुहारीलाई समान रुपमा हेर्न आग्रह गर्नुभयो ।

अवसरपाए छोरीहरुले पनि आफ्ना प्रतिभाहरु खुलेर देखाउन सक्ने भएको हुँदा यस बिषयमा सबैको ध्यान जान जरुरी देखिएको बताउँदै महिला पुरुष दुबैको साथ र सहयोगबाट मात्रै महिला हिंसा लगाएतका समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । महिलाहरुको वर्तमान अवस्थाका विषयमा स्मरण गर्दै उहाँले पालिकाको महिलाको अवस्थालाई पुनःरुत्थानका लागि सबैले प्रयास गर्नुपर्नेमा जोडदिनु भयो ।

यसैगरी विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नारी दिवस विश्वभरका श्रमिक महिलाहरुले आन्दोलनबाट प्राप्त गरेको अधिकार महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यस बर्षको नारी दिवसमा महिला दिदी बहिनीहरुलाई उत्साहित गराउनकालागि पालिकाले खुला कुर्ची दौड प्रतियोगिता खेलको आयोजना गरिएको बताउनु भयो । महिलाहरुलाई अगाडी बढाउनकालागि आगामी बर्षमा पनि फरक किसिमका कार्यक्रमहरु गरि नारी दिवस मनाउने उपाध्यक्ष चौधरीले बताउनु भयो ।

उहाँले नेपाली महिलाहरुले पञ्चायती, जहानिया राणा शासन र विभिन्न आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै महिलाहरुले पुरुषसरह अधिकार प्राप्त गर्नुपर्ने बताउनुभयो । राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिलाहरुको सहभागिता रहेको बताउँदै पुरुष सरह महिला अधिकारका लागि सहभागिता बढाउनु पर्ने उहाँको भनाइ छ । नेपाल सरकारले दिएको अधिकार यस बिजयनगर गाउँपालिकाका महिलाहरुले प्राप्त गर्नुपर्नेमा जोडदिनु भयो । महिला तथा बालबालिकामा कुनै पनि हिंसाहरु भएका छन् भने पालिकाको न्यायीक समितीमा पु¥याउन अगुवा महिला दिदी बहिनीहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रमलाई जिल्ला समन्वय समिति सदस्य शकुन्तला भण्डारी, गाउँ कार्यपालिका सदस्य टंक बहादुर सुनार, सिनियर अहेव कौसिल्या घिमिरे , सञ्चारिका समुह नेपाल कपिलवस्तुकी अध्यक्ष पावर्ती आचार्य, कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रकी महासचिव शान्ता पौडेल लगायतले सम्बोधन गरेका थिए ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कपिलवस्तु सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

गाउँपालिकाको वडा नम्बर ६ हरीबोध आधारभुत विद्यालयमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्राविधिमा महिला पहुँचको विस्तार “भन्ने मूल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस बुधबार विजयनगरमा सम्पन्न भएको छ । विजयनगर गाउँपालिकाको आयोजना र इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपाल, सञ्चारिका समुह नेपाल, किशोरकिशोरी मञ्च कपिलवस्तु, विजयनगर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सञ्जालको सहयोगमा कुर्ची दौड प्रतियोगिता, वृहत र्याली र अन्तरक्रिया कार्यक्रमको आयोजनामा महिला दिवस मनाएको हो ।

यसैगरि सञ्चारिका समूह कपिलवस्तुको आयोजना तथा बिजयनगर गाउँपालिकाको आर्थिक सहयोगमा “खेलकुद, अनुशासन र राष्ट्रभक्ति, समृद्ध बिजयनगर गाउँपालिकाका लागि स्वस्थ जनशक्ति’ भन्ने नाराका साथ संचालन गरिएको पालिका स्तरिय खुला महिला कुर्ची दौड प्रतियोगितामा बिजयनगर गाउँपालिकाका ७ वटा वडाका महिलाहरुको सभागिता रहेको थियो । खेलमा पहिलो ,दोस्रो ,तेस्रो र सान्त्वना स्थान लिएका खेलाडीहरुलाई नगद , प्रमाण पत्र र खादा सहित पुरस्कृत गरिएको थियो ।

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस, बिभिन्न कार्यक्रम गरि मुलुकभर मनाइएको छ । महिला कामदार माथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ । नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । दिवसको अवसरमा बिजयनगर गाउँपालिकाले ११३ औ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।