नेपालले पीएनजीलाई दियो २९८ रनको कीर्तिमानी लक्ष्य

मेचीकाली संवाददाता

२५ फाल्गुन २०७९, बिहीबार
800 shares

काठमाडौं । आरिफ शेखको शतकीय इनिङप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गर्‍यो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आशिसफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।

यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओ एक विकेट लिए।