भैरहवाबाट जजिराले फेरि थाल्यो उडान

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७९, शुक्रबार
337 shares

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे २ महिनापछि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कुवेतको जजिरा एयरवेजले बिहीबारदेखि पुनः उडान सुरु गरेको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए । खराब मौसमका कारण भिजिबिलिटी कम भएको बताउँदै गएको पुस ६ गतेदेखि जजिराले उडान रोकेको थियो ।

कुवेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिराको विमान ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको हो । जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने प्रवक्ता झाले बताए । भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । कार्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले पनि गएको पुस १ गतेदेखि उडान रोकेको छ ।

विमानस्थल सञ्चालमा आएसँगै यहाँबाट १५६ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यो अवधिमा १३ हजार ६५९ जना यात्रु विमानस्थलमा अवतरण गरेका छन् भने १८ हजार १२४ जनाले यहाँबाट उडान सेवा लिएका छन् ।
विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरीएको देशको दोस्रो ठूलो गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको छ ।

अन्तर्राष्ट्रिय उडान रोकिँदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा भएको ४० अर्ब बढी लगानीले प्रतिफल पाउन नसकेको भन्दै व्यवसायीहरु चिन्तित बनेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गराउन जिल्लाका सांसदले प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।