मनाइयो ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७९, शुक्रबार
257 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको आयोजना र युएनएफपीए, इन्सेक, मानव अधिकार समूह कपिलवस्तु, गैरसरकारी महासंघ कपिलवस्तु, ओरेक नेपाल, मायाँदेवी बहुउद्देश्यीय महिला सहकारी संस्था लिमिटेड, दलित सामाजिक बिकास केन्द्र, माहुरी होम, दलित महिला संघ, महिला मानव अधिकार रक्षक संजाल, साथी संस्था, संचारिका समूह, किशोरी अधिकार मञ्च लगाएतका संस्थाहरुको सहकार्यमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न गरिएको छ ।

कपिलवस्तु नगरपालिकाको सभाहलमा शुक्रबार ‘लैङ्गिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार’ भन्ने मुलनाराका साथ सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले संबिधानले प्रदत्त गरेको अधिकार कार्यान्वयन हुन सके लैंगिक बिभेद नहुने बताउनु भयो । उहाँले अधिकार कसैले उपहारको रुपमा नदिने भएको हुँदा आफ्नो हक अधिकार लिनकालागि आफै सक्रिय हुन महिलाहरुलाई आग्रह गर्नुभयो ।

यसैगरी बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले ११३ औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना दिंदै महिलाहरुले प्राप्त गरेको पदिय दायित्व , काम , कर्तब्य , अधिकारको पालना गर्न सके आफ्नो अधिकारबाट बञ्चित नहुने बताउनु भयो । पछिल्लो समयमा बिभिन्न संघ संस्थाहरुले कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि व्यानरमा मात्र तामझाम देखाउने प्रबृद्धि बढ्दै गएको बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले स्थानियतहले श्रमको निती बनाई कार्यान्वयन गर्न जरुरी देखिएको बताउनु भयो । नगरपालिकाले बनाएका निती कार्यान्वयनका लागि बिभिन्न संघ संस्थाहरुले समन्वय गरी कार्यक्रम तथा अभियानहरु संचालन गर्नसके बिभिन्न प्रकारका हिंसाहरु न्यूनिकरण हुने बिश्वास व्यक्तगर्नु भयो । छोरा र छोरीमा अभिभावकहरुले बिभेद नगरे छोरीहरुले पनि अधिकार पूर्ण रुपमा प्राप्त गर्न सक्ने उहाँको भनाई छ ।

यसैगरी इन्सेक मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले महिलाहरुलाई शिक्षा र स्वरोजगारमा कपिलवस्तु नगरपालिकाले देखाउन सक्ने कुनै कार्यहरु गर्न नसकेको दावि गर्नुभयो । महिलाहरुलाई दिगो उद्यमशिलता र आत्मनिर्भरता बनाउन यस नगरपालिकाले नगर परिषदमा बजेट सहितको निती पास गर्नुपर्नेमा जोड दिनुभयो ।

मुश्लिम शसक्तिकरण केन्द्रका कनिज फत्मा रंगरेजले संबिधानमा ३३ प्रतिशत महिला अनिवार्य लेखिए पनि कार्यान्वयन हुन नसक्नु दुखको कुरा भएको बताउनु भयो । यसैगरी ओरेक नेपालका सहायक कार्यक्रम अधिकृत संगिता चौरासियाले महिला र किशोरीहरुका सवालहरुलाई संबोधन गर्न सरोकारवाल निकायहरुको ध्यानजान आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आफ्नो अधिकार प्राप्तीका लागि महिलाले ठुलो योगदान गरेको बताउनु भयो ।

दलित समाजिक बिकास केन्द्रका कार्यक्रम संयोजक रामशरण रैदासले “लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रबिधिमा महिलाको पहुँच बिस्तार’ को नारामा रही समसामयीक बिषयबस्तुमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम किशोरी अधिकार मञ्चका उपाध्यक्ष साधिका रैदासको संचालनमा नगरपालिकाका उपप्रमुख सुनिता गुप्ता , जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मी , जिल्ला प्रहरी कार्यालयका डीएसपी मिन बहादुर घले , जिल्ला समन्वय अधिकारी भूमिराज पोख्रेल , महिला वडा सदस्यहरु , कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरोजा चौधरी , माहुरी होमका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुर , गैरसरकारी महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।