शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः प्रहरी निरीक्षक पौडेल

मेचीकाली संवाददाता

२७ फाल्गुन २०७९, शनिबार
345 shares

बुटवल । वडा प्रहरी कार्यालय रामनगर, बुटवलका नव आगन्तुक प्रहरी निरीक्षक अर्जुन पौडेलले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा बोल्दै प्रहरी निरीक्षक पौडेलले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य दायित्व र कर्तव्य रहेको भन्दै यही कर्तव्यलाई कुशल ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाए । हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता जघन्य अपराधमा सम्लग्नलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने उनले बताए ।

शान्ति सुरक्षामा चुनौतीका रुपमा देखा परेका समाजमा व्याप्त गुण्डागर्दी, खुला सीमानाका कारण हुने चोरी तस्करी, लागूऔषधको ओसारपसार एवं कारोबार, अवैध उत्खनन्, साइबर अपराध, अवैध गतिविधिलगायत जघन्य प्रकृतिका विभिन्न अपराध नियन्त्रणमा विशेष अभियान चलाउने उनले बताए । ‘अपराध नियन्त्रण प्रहरी एक्लैबाट सम्भव हुँदैन,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘विभिन्न कार्यक्रममार्फत नागरिकसँग जोडिएर अपराध नियन्त्रणमा हातेमालो गछौँ ।’

सञ्चारकर्मीहरुले रात्रीकालिन बजार व्यवस्थापन, अवैध उत्खनन्, चोरी तस्करी, साइबर अपराध लगायतका विषयमा प्रहरी प्रशासन सधै चनाखो बन्नुपर्ने सुझाव दिएका थिए ।

प्रहरी निरीक्षक पौडेल यसअघि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागको परिपत्रअनुसार पौडेल यही फागुन १६ गते वडा प्रहरी कार्यालय बुटवलमा काज सरुवा भएका हुन् । यसअघि सल्यान र अर्घाखाँचीमा अनुसन्धान अधिकृतको रुपमा रहँदासमेत उनले विभिन्न गम्भीर प्रकृतिका घटनाको सफल अनुसन्धान गरिसकेका छन् ।