सुनिल बने मिष्टर उजिरसिंह

मेचीकाली संवाददाता

२९ फाल्गुन २०७९, सोमबार
198 shares

बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा प्रथम ‘मिष्टर उजिरसिंह’ रुपन्देही जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिता शनिबार बुटवलमा सम्पन्न भएको छ ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियोे । ६५ केजी वजन समूह बिजेता भइ फाइनलामा पुगेका बुटवल जिमएण्ड फिटनेसका सुनिल आले औभरअल च्याम्पियन बने । उनले प्रतियोगितामा सहभागी ३४ जना प्रतिस्पर्धी खेलाडीलाई पाखा लगाउँदै मिष्टर रुपन्देहीको उपाधिसँग ५० हजार नगद र आकर्षक ट्रफि र व्यानेटसहित उपाधिसमेत हात पारे ।

यसैगरी ५५ केजी तौल समूहतर्फ क्रमशः फिजिकल फिटनेसका आकाश गुरुङ प्रथम, फिटनेस टाइमका प्रविन पौडेल द्वितीय र रोयल आइरनका बलराम डुम्रे तृतीय भए । ६० केजि वजन समुहमा फिटनेस हबका स्यामुल गुरुङ प्रथम, बुटवल जिम एण्ड फिटनेसका भानुभक्त कठरिया दोस्रो, पावर एण्ड मशल जिमका रमेश थापा तृतीय हुन सफल भए । त्यस्तै ६५ केजी तौल समूहमा बुटवल जिम एण्ड फिटनेसका सुनिल आले प्रथम, द ड्रिम फिटनेसका दोस्रो तथा कृष्ण जिमका चन्द्रबहादुर थापा तेस्रो भए । ७० केजीमा रोयल जिमका गौतम राना प्रथम, विलिङनेश जिम एक्सप्रेसका विजय कार्की क्षेत्री दोस्रो हँदा फिटनेस टाइमका आकाश जिशिले तेस्रो स्थानमा चित्त बुझाए ।

त्यसैगरी ७० केजी माथिको समूहमा रोयल जिमका कुशलप्रसाद गुरुङ प्रथम हुन सफल हुँदा फिटनेस टाइमका अमित डाँगी दोस्रो तथा निवोध एरोविक्स एण्ड जिमका सुरेशबहादुर दमाई तृतीय भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले बताए । समूह चरणका खेलाडीलाई क्रमशः प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार तेस्रोलाई नगद १ हजारसहित टिशर्ट प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । तौल समूहबाट विजेता बन्दै छनौट चरण पार गरेका पाँच जना बिजेताहरु वीच अन्तिम स्पर्धा गराइएको थियो । फाइनल राउण्डमा बजन समूह बिजेताहरु आकाश गुरुङ,स्यामुल गुरुङ, सुनिल आले, गौतम राना र कुशलप्रसाद गुरुङ बीच रोचक भिडन्त भएको थियो ।

प्रतियोगितामा बेष्ट पोजर उपाधि ५५ केजीका बिजेता समेत रहेका आकाश गुरुङले प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा निर्णायकहरु मुख्य निर्णायक प्रतापकाजी वरिया, निर्णायक स्टाटिशियन अनिललाल श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक बुद्धिजंग कार्की, केशवबहादुर शाक्य तथा राष्ट्रिय निर्णायक शिवध्वज राई, राजकुमार श्रेष्ठ र सुरज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन श्रेष्ठ तथा मार्शल उत्सव अधिकारी र उत्तम गुरुङले सहजीकरण गरेका थिए ।

बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, आयोजक संस्थाका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारी तथा बुटवल उपमहानगरपालिका वडा न ९ का अध्यक्ष प्रदिप श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।