मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरू

मेचीकाली संवाददाता

४ चैत्र २०७९, शनिबार
243 shares

बुटवल । मोफसलको चर्चित ठूलो तिलोत्तमा गोल्डकपको २२औं संस्करण शनिबारदेखि सुरू भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टर देवीनगरमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम ११ विजयी भएको छ । घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउँदै सुदुरपश्चिम ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमका लागि दुई गोल फागुराम थारुले गरे । त्यस्तै अर्को गोल सोम्य हार्दिकले गरे । रुपन्देही ११ का लागि एक मात्र शान्त्वना गोल खेलको ईन्जुरी समयमा फोडे फोफोनाले पेनाल्टी मार्फत गरे ।
घरेलु मैदानमा दर्शकको साथ पाएको रुपन्देही ११ ले केही राम्रा अवसर पाएपनि सदुपयोग भने गर्न सकेन । सुदुरपश्चिम ११ अब क्वाटरफाईनलमा भोली आईतबार हुने हिमालय शेर्पा र थ्रि स्टार क्लव बीच हुने प्रतियोगिताको विजेता सँग भिड्नेछ ।

चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खेल तालिकाअनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । ८ र ९ गते सेमिफाइनलका खेल हुने छन् । चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुनेछ । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू गरेको थियो ।