न्यू होराइजनद्वारा क्रिकेटर कुशल मल्ल सम्मानित

मेचीकाली संवाददाता

५ चैत्र २०७९, आईतवार
281 shares

बुटवल । यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन आवासी अंग्रेजी माध्यामिक विद्यालयले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, प्रकाश खनाल, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचन लगायतले मल्ललाई सम्मान गरेका हुन् ।

विद्यालयले मल्ललाई नगद २१ हजार ५०० रुपैयां नगद सहित सम्मान गरेको हो । बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।

आफ्नो शैक्षिक संस्थाको विद्यार्थी मल्लले हालै काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’ को अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको भन्दै सम्मान गरेको विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीले बताए ।

सो अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा न्यू होराइजनको पनि ठूलो योगदान रहेको बताए । न्यू होराइजनबाट कुशल सहित राहुल बिक र सुशन भारी सिनियर टिममा तथा जुनियर राष्ट्रिय टिममा सौरभ खनाल, रुपेश बास्तोला, देबेन्द्र सोमरे, प्रकाश केसी, निर्मल थापा, स्विचेन शाह, नुरध्वज सेन र कृष्ण सेनले प्रतिनिधित्व गरिसकेका खेलाडी रहेको प्रशिक्षक गौचनले बताए ।

सो अवसरमा शिक्षक प्रकाश गौतमले निरन्तरको मेहनत,अनुशासनले कुशलले क्रिकेटमा सफलता हासिल गरेको बताए ।