बुटवल क्याम्पसमा अनेरास्ववियुले जोगायो विरासत, नेविसंघ तेस्रो स्थानमा खुम्चियो

मेचीकाली संवाददाता

६ चैत्र २०७९, सोमबार
333 shares

रमेश पराजुली
बुटवल । लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुले प्यानल नै जितेको छ । यो जितसँगै उसले ०४९ सालदेखिको आफ्नो विरासत कायम राखेको हो । यता नेविसंघ भने तेस्रो स्थानमा खुम्चिएको छ ।

अनेरास्ववियुका उम्मेदवार दुर्ग बहादुर एमसी ५७९ मतान्तरले विजयी भएका छन् । उनले १ हजार २१४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का शिव बहादुर खवासले ६३५ मत ल्याएका छन् ।

त्यस्तै नेपाल बिद्यार्थी संघका सागर पौडेलले ४७४ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । भने राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका बरन्यम राज गौतमले १४५, अनेरास्वविय (क्रान्तिकारी) बिप्लवका पदम पराजुलीले २७ र अखिल (क्रान्तिकारी) बहुमतका पारस राहादीले २५ मत ल्याए । यहाँ ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी सचिवमा अनेरास्ववियुका निलकन्ठ पाण्डेयले १ हजार २१५ मत ल्याएर विजयी भएका छन्, उनका निकटतम प्रतिस्पर्धी नेविसंघका माधव खत्रीले ६०१ मत पाए । अखिल (क्रान्तिकारी)का बिशाल पौडेलले ४३७, राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका राजन पाण्डेले १२०, अनेरास्वविय (क्रान्तिकारी) बिप्लवका सुस्मीता बेल्बासेले ६८ र अखिल (क्रान्तिकारी) बहुमतका सुनिल नेपालीले २९ मत ल्याए ।

कोषाध्यक्षमा अनेरास्ववियुका शशांक बस्यालले १ हजार २१० मत ल्याएर विजयी भएका छन्, उनका निकटतम प्रतिस्पर्धी नेविसंघकी सम्झना पंगेनीले ५१८ मत पाइन् । अखिल (क्रान्तिकारी)की सपना फुल्लेलले ४९८, राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका सरोज खनालले १६२, अनेरास्वविय (क्रान्तिकारी) बिप्लवका सन्तोष पाण्डेले ५८ र अखिल (क्रान्तिकारी) बहुमतका प्रविन साहादीले ३४ मत ल्याए ।

यस्तै सदस्यमा पनि अनेरास्ववीयुका नविन खनाल (११७१), सुचना भण्डारी (१२२१), सुनिल कार्की (१२१३), भुकम्प अर्याल (११८६), बिमल कुमार पासी (१११९), सागर एमसी (११३२), विवेक कुँवर (१०९९) र प्रज्वल बस्नेत (११६०) मतसहित फराकिलो मतान्तरले विजयी भएका छन् ।

बुटवल बहुमुखीमा २०४९ सालदेखिनै एमाले निकट अनेरास्ववियुले वर्चस्व जमाउँदै आएको छ । ०४९ सालमा खिमलाल भट्टराईले बिजय यात्रा सुरु गरेको बुटवल क्याम्पसमा ०५१ सालमा राजु गुरुङ, ०५३ सालमा तेजेन्द्र केसी, ०५५ सालमा यज्ञ गैरे, ०५७ सालमा रमेश न्यौपाने, ०६० सालमा रमेश राना र ०६३ सालमा बावुराम पन्थीले नेतृत्व गरेका थिए ।

२०६५ सालमा भएको स्ववियु निर्वाचनको मतगणनाको अन्तिम समयमा माओवादी निकट अखिल (क्रान्तिकारी)ले मतपत्र च्यातेपछि निर्वाचन परिणाम घोषणा हुन सकेको थिएन । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा आइतबार भएको निर्वाचनमा २ हजार ६८१ जनाले मात्र मतदान गरेका थिए ।

यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले सबैभन्दा बढी १३ सय मत पाएको छ । दोस्रोमा नेविसंघले ५९२ मत, अखिल क्रान्तिकारीले ४९७ मत, राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहले १९० मत, विप्लव निकट अखिल क्रान्तिकारीले ३८ मत र नेकपा बहुमत निकट अखिल क्रान्तिकारी बहुमतले ३२ मत पाएका छन् ।