गुल्मीमा अनेरास्ववियु पहिलो हुँदा नेविसंघ तेस्रोमा खुम्चियो

मेचीकाली संवाददाता

६ चैत्र २०७९, सोमबार
196 shares

बुटवल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा गुल्मीमा नेकपा एमाले निकट अनेरास्ववियु पहिलो भएको छ । अनेरास्ववियुले ५ वटा क्याम्पसमा सभापति पद जितर पहिलो बनेको छ । जिल्लामा रहेका कुल ११ क्याम्पसमध्ये आइतबार ३ वटामा मात्रै निर्वाचन भएको थियो । अरु क्याम्पसमा भने सहमतिबाटै नेतृत्व चयन भएको हो ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ४ वटा क्याम्पसमा जित निकाल्दै दोस्रो स्थानमा आउँदा, २ वटा क्याम्पसमा सभापति जितेर नेविसंघ तेस्रो स्थानमा खुम्चिएको छ ।

अनेरास्ववियुबाट मानका टिकाराम बहुमुखी क्याम्पस मजुवामा आकाश खरेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक, सत्यवती बहुमुखी क्याम्पस सत्यवतीमा अस्मिता भण्डारी, रिडी बहुमुखी क्याम्पस रिडीमा गंगा कुँवर, दिगाम आदर्श क्याम्पस दिगाममा श्रीधर अर्जेल सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये रुद्रावतीमा मात्र आइतबार निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

त्यस्तै, अनेरास्ववियु (क्रान्तिकारी) बाट धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इन्द्र पोखरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विशाल थापा र जनज्योति क्याम्पसमा जीवन पौड्याल सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये श्रृङ्गेश्वरमा मात्र आइतबार निर्वाचन भएको हो ।

नेविसंघबाट जिल्ला सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पस स्ववियु सभापतिमा पुनाराम घिमिरे र रुरु संस्कृत विद्यापिठ रिडीमा नारायण पन्थी सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये रेसुंगामा मात्र आइतबार निर्वाचन भएको हो ।

यहाँ अनेरास्ववियुका नवीन अर्याललाई हराएर नेविसंघका घिमिरेको प्यानल नै विजयी भएको हो । यसअघि ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा भने अनेरास्ववियुले जितेको थियो ।