विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री गिरीको निर्देशन

मेचीकाली संवाददाता

७ चैत्र २०७९, मंगलवार
201 shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने,‘विपद् जुनसुकै बेला पनि आउन सक्छ । विपद् आउनु पूर्व नै यसको रोकथाम गर्ने तयारी थाल्नुपर्छ । जोखिमयुक्त स्थानमा विपद् पूर्वतयारी थाल्नुपर्दछ । यसतर्फ लाग्न ढिलाई नगरौं ।’

प्रदेशभित्र विपद्को उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै मुख्यमन्त्री गिरीले विपद्बाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्नतर्फ सरकार योजना बनाएर लाग्ने बताए । ‘लुम्बिनी प्रदेश विपद्को उच्च जोखिममा रहेको क्षेत्रभित्र पर्दछ । यहाँ बाढी, पहिरो, डुवान, आगलागीजस्ता विपद् रहेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘विपद् जुनसुकै बेला पनि आउनसक्छ । त्यसैले यसको जोखिम रोकथाम गर्न सरकार योजना बनाएर लाग्छ । विपद्बाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्ने दायित्व सरकारले बहन गर्दछ ।’

विपद् व्यवस्थापनसम्बन्धी आवश्यक कानुन निर्माण गर्न ढिलाई गर्न नहुने भन्दै मुख्यमन्त्री गिरीले कानुन निर्माणको कार्य थालनी गर्न पनि निर्देशन दिए । कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरेको बताए । प्रदेशभित्र हुने विपद्को जोखिम रोकथाम र न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना निर्माण गरेको भन्दै मन्त्री आचार्यले यसैको जगमा विपद् जोखिम न्यूनीकरण गर्नतर्फ सरकार लागिपर्ने बताए ।

लुम्बिनी प्रदेशको विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना पारित भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयले तयार पारेको कार्ययोजना पारित गरेको हो ।