

बुटवल । तिलोत्तमा नगरपालिका १ शंकरनगरमा रहेको एपेक्स स्कुलले क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई सम्मान गरेको छ ।
उनी नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक हुन् भने आइसीसी क्रिकेट मेन्स वल्ड कप लिग २ का सह—प्रशिक्षक समेत हुन् । नेपाली टीम वल्ड कपमा क्वालिफायर्समा गरेको योगदानसहितको खुशीयालीमा उनलाई विद्यालयले सम्मान गरेको हो ।
उनी एपेक्स स्कुलका शेयर सदस्य समेत हुन् । विद्यालयमा आयोजित कार्यक्रमबीच लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, स्कुलका अध्यक्ष शिवप्रसाद भट्टराई, प्राचार्य दीपक गौतम, उमेश श्रेष्ठ लगायतले उनलाई सम्मान गरे ।
ठकुरीलाई २०७८ मंसिरमा नेपाल क्रिकेट संघ क्यानले एसीसी यू—१९ एसिया कपको लागि समेत नियुक्त गरेको थियो । प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा खेलकुदको विकासको पर्याप्त अवसर रहेपनि सरकारले यथेष्ट खेलमैदान लगायतका सामाग्री, प्रविधिको बन्दोबस्त गर्न नसकेको गुनासो गरे ।