घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

मेचीकाली संवाददाता

११ चैत्र २०७९, शनिबार
198 shares

बसन्ती आचार्य

कपिलवस्तु । घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ घर भई सोही वडा स्थित माइती घरमा बस्दै आएकी २८ वर्षीया विनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी र समूहका पदाधिकारीहरुको रोहवरमा इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले इन्सेकबाट ८ हजार रुपैंया र समूहका सचिव कमलेश त्रिपाठीले ५ सय रुपैंया गरी ८ हजार ५ सय रुपैंया चौधरीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

चौधरीले इन्सेकको समन्वय सहयोगमा फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो । पीडितले पति २९ वर्षीय विवेक मल्ल, ससुरा ५२ वर्षीय मनु मल्ल, सासु ४८ वर्षीया अन्जु मल्ल र देवर २६ वर्षीय असिम मल्ल विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको थियो ।

पीडित र आरोपितबिच ०७४ साल फागुन २९ गते प्रेम विवाह भयो । विवाह भएको एक वर्ष सम्म त घर परिवारबाट मायाँ दिए । त्यसपछि पति बैदेशिक रोजगारकालागि बहराईन जानुभयो । दुई वर्षसम्म बैदेशिक रोजगारमा बस्दा एक दुई पटक सामान्य खर्च पठाईदिनु भयो । त्यसपछि पति म र मेरो बालिका छोरीसंग सम्पर्क बिहिन हुनु भयो । घरमा सासु ससुराले खानलाउन नदिने , बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक , मानसिक र आर्थिक हिंसा गर्नुका साथै बिवाह दर्ता , नागरिकता र छोरीको जनम दर्ता समेत नबनाएको पीडितले बताउनु भयो ।

आफू र बालिका छोरी बिरामी हुँदाको खर्च , खानेखर्च र लत्ताकपडा लगाएतका आवश्यक खर्च माइतीले व्यहोरेको पीडितले बताउनु भयो । घर परिवार सासु ससुरासँग खर्च माग्दा सहज रुपमा नदिने दिनु परे अनगिन्ती गालिगलोज गर्दै कहिलेकाँही दिने गरेको र अन्तिम पटक ०७९ फागुन २ गते अपशब्द सहित गालिगलोज गर्नुका साथै मानसिक यातना दिएको पीडितको भनाई छ ।

मेरो पति बिदेशबाट नेपाल आए पनि घरमा नआउने बाहिर बस्ने र आफ्ना बुवा आमालाई पनि उतै बोलाएर भेटगर्ने छोरी र म पत्नीलाई वास्ता नगरेको पीडितले गुनासो गर्नुभयो ।

माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धिको मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकसंग आवद्ध मानव अधिकार समूह कपिलवस्तुमा फागुन २ गते निवेदन दिनु भएको थियो ।

फागुन ३ गते मानव अधिकार समूहले पीडितलाई सहयोग गरिदिन भन्दै इन्सेक कपिलवस्तुलाई सिफारिस गरेको र पीडितले फागुन ४ गते इन्सेक प्रतिनिधीलाई समेत सहयोगकालागि निवेदन दिनु भएको थियो ।

पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय र सहयोग पश्चात फागुन ११ गते पीडितले माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भएको थियो ।