मनाङले जित्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधि

मेचीकाली संवाददाता

११ चैत्र २०७९, शनिबार
202 shares

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम–११ लाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।

उपाधिसँगै मनाङले ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिम ११ ले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । मनाङले पहिलोपटक तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङलाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदूरपश्चिम–११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए ।

त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो । सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सुदूरपश्चिमका फागुराम थारुले एउटा स्कुटर पाएका छन् । यस्तै प्रतियोगिताका बेस्ट गोलरक्षक मनाङका जियानाथ शेख, डिफेण्डर आशिस गुरुङ, बेस्ट फरवार्ड सुदूरपश्चिमका फागुराम थारु, बेस्ट मिडफिल्डर मनाङका विशन गुरुङ, बेस्ट कोच मनाङका किरण श्रेष्ठ घोषित हुँदै जनही ३० हजारका दरले नगद पुरस्कार पाए ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा चैत ४ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी थिए । २१औं संस्करणको उपाधि क्यामरुन दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको हो । बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।