आर्थिक संकटबाट निकासको लागि सबै एकजुट हुनुपर्छः पौडेल

मेचीकाली संवाददाता

११ चैत्र २०७९, शनिबार
279 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुटनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । राजश्वले चालू खर्चसमेत धान्न र राजश्व लक्ष्यसमेत पूरा नहुने अवस्थामा रहेको बताउँदै मुलुकको चिन्ताजन अवस्था पार लगाउन राजनीतिक दल र निजी क्षेत्र फेरि एकजुट हुनुपर्ने अवस्था आएको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलमा साधारणसभाको उद्घाटन गर्दै पौडेले मुलुकमा अहिले देखिएको संकट समस्या समाधानका लागि सबै एउटै ‘प्लट’ मा बताए ।

‘पछिल्लोपटक छोटो कार्यकालको अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुभ्mन पाएँ,’ नेता पौडेलले भने, ‘आन्तरिक राजश्वले चालू खर्च धान्ने अवस्थामा छैन । विदेशी मुद्रा सञ्चित पनि राम्रो छैन । राजश्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा छ । अहिलेको आर्थिक संकट पार लगाउन सबै एकजुट हुनुपर्छ ।’ पौडेलले थपे, ‘मुलुकमा २०२८ सालमा पनि अहिलेको जस्तै अवस्था देखिएको थियो । फेरि २०७९ मा ५० वर्ष आधा शताब्दीपछि पनि आर्थिक संकटपूर्ण अवस्था आयो ।’

रूपन्देही–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सबै व्यवसायीको साथमा रहेर पहल गर्ने बताए । उनले यातायात व्यवसायीहरु संघ÷संस्था हुँदा सम्पती प्रालिमा जाँदा लैजान पाउनुपर्ने कुरा जायज भएको बताउँदै पौडेलले व्यवसायीका अफ्ट्यारा समस्या समाधान गर्न सरकारमा रहँदा वा बाहिर रहँदा पनि काम गर्नेमा विश्वास दिलाए ।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए । कार्यविधि स्वीकृत नहुँदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको ४० अर्ब बढी लगानीले उचित प्रतिफल पाउन नसकेको र व्यवसायी निराश भएको पौडेलले उल्लेख गरे । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रालिमा गएका यातायात व्यवसायीलाई संघ÷समितिमै फर्काउनुपर्ने दावी गरेका छन् । यातायात व्यवसायी संघ÷संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको खाँणले टिप्पणी गरे ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलको साधारणसभामा बोल्दै नेता खाँणले भने, ‘कुनै पनि सरकारले ल्याएको नीति मान्दिनँ भन्न त मिल्दैन । तर, यातायात व्यवसायीलाई तत्कालिन सरकारले प्रालिमा लैजाने गरेको निर्णय गलत छ । पुरानै मोडालिटीको अनुसार नं चल्ने गरी नीति परिवर्तन गर्नुपर्छ । प्रालि हटाएर संघ नै बनाउनुपर्छ ।’

बुटवल यातायात सञ्जालको मूल केन्द्र रहेको बताउँदै नेता खाँणले यस क्षेत्रको गतिशीलतालै बढाउँदै लैजानुपर्ने बताए । ‘अस्थायी मुकाम बुटवलबाट राजधानी सरेपछि बुटवलको गतिशीलता खस्किँदै गएको छ,’ नेता खाँणले भने, ‘सडककै कारण यातायातका साधनमा ठूलो नोक्सानी भएको छ । सडक निर्माण गर्ने मोडालिटी पनि परिवर्तन गरौं ।’ मुलुकको आर्थिक संकटबाट निकास दिन सबै पक्षबीच सहमति र सहकार्य गर्नुपर्ने बेला आएको बताए ।